काठमाडौं । नेपाली बजारमा ईभीको मूल्य छिट्टै बढ्ने संकेतहरु देखिएका छन् । निरन्तर डलर बलियो बन्दै जाँदा त्यसको प्रत्येक्ष प्रभाव गाडीको मूल्यमा पर्ने देखिएको हो ।
नेपालमा सबैभन्दा धेरै ईभी आयात बजेट अगाडि भएको थियो । बैशाख र जेठ महिनामा झण्डै ५ हजार ४०० युनिट ईभी आयात भएको कारण पछिल्लो दिनमा निकै कम संख्यामा विद्युतीय कार कम्पनीहरुले ल्याएका छन् ।
जेठको पहिलो सातासम्म डलरको एक्सचेन्ज रेट १३६ रुपैयाँ थियो । अहिले त्यो बढेर १४४ रुपैयाँ पुगेको छ । बजेट अगाडि गाडी ल्याउँदाको तुलनामा डलरको भाउ ८ रुपैयाँले बढी सकेको अवस्था छ । त्यसैले नयाँ गाडी ल्याएर बिक्री गर्दा मूल्य समायोजन गर्नु पर्ने स्थानमा बिक्रेताहरु पुगेका छन् ।
अर्को, इलेक्ट्रीक सवारी साधनमा प्रयोग हुँदै आएको लिथियम आयोन ब्याट्रीको मूल्य वृद्धि हुने भएको छ । चिनियाँ ब्याट्री निर्माताहरुको बढ्दो लागत देखाउँदै मूल्य बढाउने निर्णय गरेका हुन् ।
डेली इकोनोमीक न्यू चाइनाले प्रकाशित गरेको रिपोर्ट अनुसार ब्याट्री उत्पादकहरुले ३० प्रतिशत मूल्य वृद्धिको तयारी गरेका हुन् । सांघाई सेक्युरिटीज जर्नलले पनि ब्याट्री निर्माताहरुले ३० प्रतिशतले मूल्य बढाउन लागेको उल्लेख गरेको छ ।
केही ब्याट्री उत्पादकले मूल्य बढाएर बिक्री सुरु गरिसकेको सांघाई सेक्युरिटीज जर्नलले उल्लेख गरेको छ । लिथियम ब्याट्रीमा प्रयोग हुने ‘सेप्रेटर’हरुको मूल्य बढ्न जाँदा ब्याट्रीको मूल्य नै वृद्धि गर्नु परेको कम्पनीहरुको दावी छ ।
अन्तर्राष्ट्रिय बजारमा डलरको बलियो बन्दै जानु र ब्याट्रीको मूल्य पनि बढ्ने संकेतहरु देखिएको कारण नेपालमा पनि विद्युतीय कारको मूल्य छिट्टै बढ्न सक्ने अनुमान छ । यसमा गाडी आयातकर्ता र उत्पादकको भूमिकाले पनि धेरै कुरा प्रभाव पार्नेछ ।

