काठमाडौं । आगामी वर्ष हुन्डाई, टाटा र महिन्द्राले नयाँ इलेक्ट्रीक कार मोडल बजारमा ल्याउँदै छन् । सन् २०२६ मा बजारमा आउने यी ३ वटै मोडल नेपालको लागि पनि निकै महत्वपूर्ण रहने छ ।
भारतीय ब्राण्ड टाटाले आफ्नो नयाँ एसयूभी सियराको इलेक्ट्रीक भर्सन सन् २०२६ को पहिलो क्वाटरमा ल्याउने जनाएको छ । यसका धेरै फिचरको विषयमा कम्पनीले जानकारी पनि दिइसकेको छ ।
महिन्द्राले सब फोर मिटर सेग्मेन्टमा इलेक्ट्रीक एसयूभी ल्याउने छ । महिन्द्राको नयाँ एसयूभी अहिले पेट्रोलमा रहेको थ्रीएक्सओमा आधारीत रहने छ । यसलाई आधुनिक प्लेटफर्ममा बनाएर कम्पनीले प्रतिस्पर्धामा उतार्न लागेको हो ।
हुन्डाई मोटर्सले पनि भारतमै उत्पादन गर्ने सब फोर मिटर सेग्मेन्टमा नयाँ इलेक्ट्रीक एसयूभी ल्याउने जनाएको छ । कम्पनीले सन् २०२६ को तेस्रो क्वाटरमा बजारमा उतार्ने प्योर इलेक्ट्रीक प्लेटफर्ममा बन्ने एसयूभी मूल्यको हिसाबले उत्कृष्ट र फिचरका हिसाबले लोडेड हुनेछ ।

नेपाली बजारमा आउँदा मूल्यका हिसाबले ४० लाखदेखि ६० लाख रुपैयाँ भित्रै रहने गरी आउने छन् । बढ्दो चिनियाँ ईभीको बजारमा प्रतिस्पर्धामा खरो उत्रने गरी तीन वटै ब्राण्डले नयाँ ईभी ल्याउन लागेका हुन् ।
टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सियरा ईभीको अलावा ह्यारीर ईभी पनि २०२६ मा नेपाल ल्याउने छ । टाटा ह्यारीयर अफरोड पर्फमेन्सको कारण अहिले निकै चर्चा कमाइरहेको मोडल पनि हो ।
महिन्द्राले अहिले बिक्री सुरू गरेको एक्सईभी नाइन ई र बीई सिक्सभन्दा निकै कम मूल्यमा थ्रीएक्सओको ईभी मोडल बजारमा ल्याउने छ ।
हुन्डाईले भारतमा बनाउने सब फोर मिटर सेग्मेन्टको ईभी मूल्यका आधारमा महिन्द्रा थीएक्सओको सिधा प्रतिस्पर्धी मोडल हुनेछ ।

