कमला-ढल्केवर-पथलैया सडकका साढे  ११ हजार रुख काट्न आदेश

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग विस्तार अन्तर्गत कमला-ढल्केवर-पथलैया सडक (पूर्वीखण्ड)मा साढे ११ हजार बढी रुख कटान गरिने भएको छ ।

पूर्वी खण्डको महोत्तरी, धनुषा र सर्लाही जिल्लामा कुल ११ हजार ५७७ रुख कटान गर्ने आदेश प्राप्त भएको हो ।

कमला-ढल्केवर-पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासले लामो समयपछि डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण मन्त्रालय हुँदै सम्पूर्ण प्रक्रिया पूरा भएपछि रूख काटिने आदेश प्राप्त भएको बताए ।

उनका अनुसार अनुसार सर्लाहीमा ३ हजार ६७४, धनुषामा १ हजार ८७६ र महोत्तरीमा ६ हजार २७ रूख कटान गरिने छ । सडक विस्तारका क्रममा सहरी तथा बजार क्षेत्रमा ६ लेनसहित ३१ मिटर चौडाइ र अन्य क्षेत्रमा चार लेनसहित १८ मिटर चौडाइ कायम गरिने उनले बताए ।

सडक विस्तारका लागि सबैभन्दा बढी सालका रुख कटान गरिने भएका छन् । सडक विस्तारमा बिजुलीका खम्बा सार्ने र खानेपानीको पाइप बिछ्याउने कामसमेत चुनौतीका रुपमा रहेको आयोजना प्रमुख दासले बताए। धनुषा र सर्लाहीमा रूख कटानको काम सुरु भइसकेको र महोत्तरीमा पनि चाँडै उक्त कार्य आरम्भ हुने उनले बताए।

कमला-ढल्केवर-पथलैया कुल १३० किमी सडक मध्ये हाल पूवीखण्ड (कमला–ढल्केबर–बागमती) ७४ किमी सडकको ठेक्का लागि काम भइरहेका छ । कमला–ढल्केबर–बागमतीमा कुल ७४ किलोमिटर सडकको ठेक्का १८ अर्ब ९५ करोड ४७ लाख रुपैयाँमा लागेको हो ।


Back_to_top