काठमाडौं । विघटित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूले प्रयोग गर्दै आएका सरकारी सवारी साधन फिर्ता गरेकी छिन् ।
आइतबार कार्यकाल सकिएसँगै उपसभामुख रानाले आफूले चढ्दै आएको गाडी संसद् सचिवालयलाई बुझाएकी हुन् ।
उनले दुइटै गाडीको साँचो संसद् सचिवालयका कर्मचारीलाई बुझाएकी हुन् । गाडीको साँचो बुझाएपछि राना ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिएकी थिइन् ।
संविधान अनुसार आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने व्यवस्था छ । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि पुस १४ गतेसम्म बन्दसूची बुझाउने समय तोकेको छ ।

