नियोसीका भ्यान निर्वाध रूपमा बिक्री भइरहेको छ, भ्रममा नपर्नू : एम्बर मोटर्स

काठमाडौं । एम्बर मोटर्स प्रालिले नियोसी ब्राण्डका भ्यानहरू बिक्री तथा बिक्रीपछिको सेवा निर्वाध रूपमा भइरहेको जनाएको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै संचार माध्यममा आएका भ्रामक समाचारहरू प्रति सजग रहन ग्राहकलाई आग्रह गरेको हो ।

कम्पनीले आफूसँग सरोकार नै नरहेको विषयमा सीजी मोटर्सले भ्रामक समाचार सम्प्रषण भएको भन्दै आपत्ति जनाएको छ ।

‘मिति २०८२ पौष ०८ गते सम्मानित जिल्ला अदालत काठमाडौंबाट नियोसी इलेक्ट्रीक भ्यान समेत आयात, बिक्री वितरण तथा नामसारी गर्न रोक लगाएको भनी सीजी मोटर्स प्रालि द्वारा गरिएको भ्रामक समाचार सम्प्रेषण प्रति हामी खेद व्यक्त गर्दछौं,’ कम्पनीले भनेको छ ।

अदालतको आदेश सीजी मोटर्स र केवाइसी भ्यानको माउ कम्पनी चोङगोइङ कुआयुई ग्रुप हकमा आएकाले तेस्रो पक्ष विरुद्द आदेश जारी नभएको कम्पनीले स्पष्ट पारेको छ ।

‘कुनै सरोकार नरहेको उनाउ पक्षहरू बीचको करारको विवादमा भएको आदेशवाट सोही पक्षहरू विरुद्द मात्र उक्त आदेश जारी भएको र हामी लगायतका अन्य तेस्रो पक्ष विरुद्द उक्त आदेश जारी नभएको हुँदा उल्लेखित भ्रामक समाचारहरू प्रति सजग रहनु हुन सबैमा सादर अनुरोध गर्दछौं,’ कम्पनीले भनेको छ ।

एम्बर मोटर्सले आफूले बिक्री गर्दै आएको नियोसी ब्राण्डका भ्यान र सीजीले बेच्दै आएको केवाइसी भ्यानसँग कुनै सम्बन्ध तथा सरोकार नरहेको र केवाइसीभन्दा फरक रहेको प्रष्ट पारेको छ ।

एम्बरले गत मंसिर १७ गते उच्च अदालत पाटनमा नियोसी ब्रान्डका भ्यानहरू बिक्री रोक लगाउन भन्दै परेको रिट खारेज भएकाले आफूहरूले निर्वाध रूपमा बिक्री वितरण गरिरहेको जनाएको छ ।


Back_to_top