काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा सवारी साधन संचालनमा रोक लगाइएको छ ।
मंगलबार बिहान यूपी १७ ए २१४ नम्बरको एलपी ग्यास बुलेट सडकम पल्टिँदा सवारी आवातजावत अवरुद्ध भएको हो ।
सडकमा तेर्सो परेको बुलेटबाट ग्यास लिक भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी संचालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटनामा बुलेट चालक सामान्य घाइते भएका छन् । हालसम्म पनि उक्त बुलेट हटाउन सकिएको छैन । बुलेटलाई उठाउन क्रेन बोलाइएको प्रहरीले जनाएको छ । आगलागी हुन सक्ने भएकाले दमकल पनि झिकाइएको छ ।
बुलेट नहटाउन्जेलसम्म सडक नखुलने प्रहरीले जनाएको छ । सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

