६ महिनापछि खुल्यो रसुवागढी नाका, चीनबाट सामान ल्याउन सहज हुने

काठमाडौं । गत असार २४ गतेदेखि बन्द रसुवागढी नाका संचालनमा आएको छ । ल्हेन्दे खोलामा चीन सरकारले अस्थायी रूपमा बेलिब्रिज निर्माण सम्पन्न गरी आज (बिहीबार) देखि नाका खुला गरेको हो ।

ल्हेन्दे खोलामा आएको बाढीले दुई देश जोड्ने पुल बगाएपछि ६ महिनादेखि नेपाल-चीन व्यापार ठप्प भएको थियो । चिनियाँ पक्षले दुईसाता अघि नै बिलिब्रिज निर्माण सम्पन्न गरे पनि सवारी साधनका लागि खुलाएको थिएन् ।

रसुवागढी भन्सार कार्यालका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले पुल खुलेसँगै नेपालबाट कन्टेनरहरू सामान लिन केरुङतर्फ गएको बताए ।

‘बेलिब्रिज संचालनमा आएसँगै ६ महिनापछि नाका खुलेको छ । नेपालबाट कन्टेनरहरू सामान लिन केरुङ गएका छन् । उताबाट पनि आउँदै छन् भन्ने सुनिएको छ । साँझसम्म आइपुग्लान,’ उनले भने ।

यसअघि सामान लिन गएका करिब २०० कन्टेनर केरुङतर्फ रोकिएका थिए । नाका खुलेसँगै अब चीनबाट विद्युतीय सावारीसँगै अन्य सामान ल्याउन पनि सहज हुने भएको छ । हाल तातोपानी नाकाबाट मात्रै सामान आयात गर्दै आइएको छ ।

त्यसमा पनि तिब्बत प्रशासनले अस्वभाविक कडाइ गर्दा व्यवसायीले आवश्यकता अनुसारको सामान ल्याउन पाएका छैनन् । दशैं, तिहार जस्ता चाडवाडका लागि अर्डर गरिएको सामान अझै आइनपुगेको व्यवसायीले जनाएका छन् । दशैं, तिहारको बेला तातोपानी र रसुवागढीको विकल्पमा कोरला नाका हुँदै ईभी र उपभोग्य वस्तु नेपाल ल्याइएको थियो ।

असार र असोजमा आएको बाढीले स्याफ्रुबेँसी-रसुवागढी सडकखण्डको डेढ दर्जन ठाउँमा क्षति पुर्याएको थियो । उक्त सडक अस्थायी मर्मत गरी यसअघि नै संचालनमा ल्याइएको थियो । यद्यपि, सडक साँघुरो रहेकाले केही स्थानमा दुईतर्फी सवारी साधान संचालन हुन सक्दैनन् । सो सडक चीन सरकारले अनुदानमा दुई लेनमा विस्तार गरिदिँदै छ ।


Back_to_top