कास्की । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (जामुने पोखरा)को म्याद तेस्रो पटक थपिएको छ ।
यसअघि दुई पटक म्याद थप गर्दा समेत तोकिएको समयमा काम सम्पन्न नभएपछि तेस्रो पटक ६ महिना (२०८३ असार १५ गतेसम्म) म्याद थपिएको हो ।
मुग्लिन-पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले आयोजनाको ७५ प्रतिशत मात्रै काम सम्पन्न भएकाले ६ महिना म्याद थपिएको जानकारी दिए । उनले थपिएको समयमा बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको बताए ।
‘दोस्रो पटक थपिएको म्यादमा समेत काम सकिएन । हाल भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ । अब थपिएको समय चालू आर्थिक वर्षमा चार तथा छ लेन सम्पूर्ण सडक खण्ड निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ,’ उनले भने ।
उनले सडक मापदण्डभित्रको रुख कटानमा ढिलाइ, विद्युत् पोल र खानेपानी पाइप स्थानान्तरणमा ढिलाइ हुँदा योजना सम्पन्न हुन ढिलाइ भएको बताए ।
३८.८८ किमीमध्ये ३७ किमीमा प्रथम तहको कालोपत्र सकिएको उनले बताए । त्यसैगरी दोस्रो तहको कालोपत्रे गर्ने काम करिब ३४ किमी पूरा भएको छ । एकतर्फी कालोपत्र गर्न अब एक किमी बाटो मात्र बाँकी रहेको कुँबरले जानकारी दिए । त्यसैगरी जामुनेबाट ‘सडक मार्किङ’, ‘थर्मोप्लास्टिक पेन्ट’ र ‘रोड सेफ्टी ब्यारिएर’ राख्ने लगातका काम समेत सुरू भएको छ ।
यस योजनाको चालू आवमा थप ११ किमी चार लेनमा प्रथम तहको र ३० किमी चार लेनमा दोस्रो तहको अस्फाल्ट कालोपत्रे गरिएको छ । यस खण्डमा एक वटा पुल र दुई वटा कल्र्भट निर्माणसमेत यसै अवधिमा सम्पन्न भएको छ ।
मुग्लिन–पोखरा पश्चिम खण्डको विसं २०७८ जेठ २ गते निर्माण सम्झौता भएर विसं २०७८ भदौ १२ गतेदेखि काम सुरू भएको थियो । यो खण्ड निर्माण गर्न चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनसँग ७ अर्ब ४० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।
विसं २०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यसअवधिमा उल्लेख्य प्रगति नभएपछि पहिलोपटक १०१ दिनका लागि म्याद थप भएको थियो । यसपछि दोस्रोपटक विसं २०८१ पुसमा एक वर्ष म्याद बढाइएको थियो । पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौंसम्म जोड्ने यस राजमार्ग एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा चार वर्षदेखि स्तरोन्नतिको काम भइरहेको छ ।

