काठमाडौं । बागमती प्रदेश सरकारले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा क्षति पुगेका सवारी साधनको कर छुट दिने निर्णय गरेको छ ।
प्रदेश सरकारकोपुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै आन्दोलनमा पूर्ण क्षति पुगेका सवारीको वार्षिक कर र नवीकरण शुल्क छुट दिने निर्णय भएको जानकारी गराएको हो ।
प्रकाशित सूचना अनुसार प्रदर्शनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएका सरकारी, सार्वजनिक, बोर्ड, पर्यटक तथा निजी सवारी साधनले लगत कट्टा गर्ने प्रयोजनका लागि आर्थिक वर्ष २०८२/८३ को वार्षिक सवारी कर र नवीकरण दस्तुर छुट पाउने छन् ।
त्यस्तै, भाडाका सार्वजनिक सवारी साधनले जाँचपास र बाटो इजाजतपत्र नवीकरण दस्तुर समेत छुट पाउने मन्त्रालयले जनाएको छ ।
जेन-जी आन्दोलनका कारण देशभर साढे १२ हजार बढी सवारी साधनमा पूर्ण क्षति पुगेको थियो । तीमध्ये बागमतीमा कति थिए भन्ने एकीन तथ्यांक भने सार्वजनिक भइसकेको छैन ।

