काठमाडौं । मापद पदार्थ सेवन (मापसे) गरी सरकारी निकायदेखि कूटनीतिक नियोगसम्मका सवारी साधन चलाएको पाइएको छ ।
ट्राफिक प्रहरीले विभिन्न स्थानमा चेकजाँचको क्रममा मापसे गरी सरकारी तथा कुटनीतिक नियोगका सवारी चलाएको पाइएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ (पुस १५ सम्म) मापसे गरी सवारी चलाउनले कुल १२ हजार ३८८ सवारी तथा चालक कारबाहीमा परेका छन् ।
तीमध्ये १६ चालकले मापसे गरी सरकारी गाडी चलाएको भेटिएको कार्यालयले जनाएको छ । गत वर्ष मापसे गरी सरकारी गाडी चलाउने ७७ चालक कारबाहीमा परेका थिए ।
त्यस्तै, चालु आवमा मापसे गरी कूटनीतिक नियोगको गाडी चलाउने एक चालक कारबाहीमा परेका छन् ।
पछिल्लो समय ट्राफिक प्रहरीले मापसे, लापसे, प्रदूषण, कागजात लगायत सवारी चेकिङलाई तीव्रता दिएको छ । मंसिरमा मात्रै ट्राफिकले नियम उल्लंघन गर्ने चालक तथा सवपारीलाई कारबाही गरी ७ करोड रुपैयाँ बढी राजस्व असुली गरेको थियो ।


