काठमाडौं । तपाईं ४०० सीसीभन्दा ठूलो मोटरसाइकल किन्दै हुनुहुन्छ भने देशभर जहाँबाट किने पनि मूल्य लगभग उस्तै पर्छ । तर, त्यही मोटरसाइकल चढ्दा तिर्नुपर्ने करमा भने ठूलो अन्तर रहेको छ ।
४०० सीसी बढीको मोटरसाइकल चढ्दा प्रदेश अनुसार २३ हजार रुपैयाँ बढीसम्म कर तिर्नुपर्छ । ४०० सीसीभन्दा माथिको जतिसुकै सीसीको मोटरसाइकलमा सुदूरपश्चिम प्रदेशले ११ हजार ५०० रुपैयाँ कर लगाएको छ । तर, बागमती प्रदेशले ६५० सीसी माथिको मोटरसाइकलमा ३५ हजार रुपैयाँ कर लगाएको छ । यहाँ सुदूरपश्चिममा ६५० सीसीको मोटरसाइकल चढ्नले साढे ११ हजार रुपैयाँ वार्षिक कर तिरे पुग्छ । तर, सोही मोटरसाइकल चढ्नेले बागमतीमा ३५ हजार रुपैयाँ कर तिर्नुपर्छ ।
यसो हुनुको कारण हो हरेक प्रदेशले छुट्टाछुट्टै सवारी कर निर्धारण गर्नु । मुलुक संघीय प्रणालीमा जानु (विं.सं. २०७२ असोज) अघिसम्म देशभर एउटै मोडलको सवारी साधनले तिर्ने करको दर एउटै थियो । तर, संघीयतापछि एउटै सवारी साधनले तिर्ने करको दर प्रदेश अनुसार फरक फरक भएको हो ।
प्रदेशहरूले आफ्नो राजस्वको चाप अनुसार करका दर निर्धारण गरेका छन् । सवारी संख्या अधिक भएका बागमती, कोशी, मधेश, लुम्बिनी प्रदेशले निजी सवारी साधनलाई निरुत्साहन गर्ने गरी वार्षिक करको दर उच्च लगाएका छन् । कर्णाली, सुदूरपश्चिम जस्ता थोरै सवारी साधन भएका प्रदेशले भने अन्य प्रदेशको तुलनामा करको दर केही कम गरेका छन् ।
साना क्षमताको मोटरसाइकलमा सातै प्रदेशको करको दरमा खासै फरक छैन । तर, ठूला क्षमताको मोटरसाइकलमा करमा ठूलो अन्तर रहेको हो ।
सरकारले नेपालमा एसेम्बल हुने मोटरसाइकलमा कर सहुलितय दिएसँगै ठूला सीसीका मोटरसाइकलको बिक्री र पहुँच बढ्दो छ । तर, फरक वार्षिक करका कारण उपभोक्ता भने मारमा परेका छन् ।
नेपाल भौगोलिक रूपमा सानो रहेको र सातै प्रदेशले सवारी साधनलाई दिने सुविधा, सडकको गुणस्तर उस्तै रहेकाले करको दर पनि समान हुनुपर्ने आम गुनासो सुनिन्छ ।
कुन प्रदेशमा कति लाग्छ कर ?
सात प्रदेशमध्ये बागमतीमा सबैभन्दा धेरै कर तिर्नुपर्छ । बागमती प्रदेश सरकारले ३ हजारदेखि ३५ हजार रुपैयाँसम्म मोटरसाइकल तथा स्कुटरमा रहेको इन्जिन क्षमताको आधारमा कर लगाएको हो । बागमतीलाई पच्छाउँदै गण्डकी र लुम्बिनीले लगभग समान कर लगाएका छन् ।
तुलनात्मक रुपमा सुदूरपश्चिम सरकारले दुईपाङ्ग्रे सवारीसाधन राख्ने नागरिकलाई कम कर लगाएको छ । सुदूरपश्चिममा सबैभन्दा कम २ हजार ५०० देखि ११ हजार ५०० हजार रुपैयाँ मात्रै कर लगाइएको छ ।
बागमती : बागमती प्रदेशमा १२५ सीसीसम्मका मोटरसाइकलधनीले वार्षिक ३ हजार रुपैयाँ बुझाउनु पर्नेछ । १२५ सीसीभन्दा माथि २५० सीसीसम्मका मोटरसाइकल तथा स्कुटरधनीले ५ हजार रुपैयाँ र १५१ सीसीदेखि २२५ सीसीसम्मले ६ हजार ५०० रुपैयाँ वार्षिक कर बुझाउनु पर्छ । २२५ सीसी माथि ४०० सीसीसम्मका मोटरसाइकलधनीले १२ हजार रुपैयाँ बुझाउनु पर्नेछ । यो सेग्मेन्टमा अहिले नेपालमा मोटरसाइकल बिक्री बढ्दो छ । ४०० सीसीभन्दा माथि ६५० सीसीसम्मले २५ हजार र ६५० सीसीभन्दा माथिका सबैले ३५ हजार रुपैयाँ वार्षिक कर बुझाउनु पर्नेछ ।
मधेश : मधेश प्रदेशले सबैभन्दा कम सेग्मेन्टमा कर निर्धारण गरेको छ । मधेश प्रदेशमा १६० सीसीका मोटरसाइकलधनीले वार्षिक ३ हजार रुपैयाँ कर बुझाउनु पर्छ । १६० सीसीदेखि २५० सीसीसम्म ६ हजार ५०० रुपैयाँ र २५१ सीसीदेखि ४०० सीसीसम्मले ११ हजार बुझाउँदा ४०० सीसीभन्दा माथिका मोटरसाइकलधनीले २० हजार कर बुझाए पुग्छ ।
कोशी : कोशी प्रदेशले पनि ५ सेग्मेन्टमा मात्र कर निर्धारण गरेको छ । कोशीमा १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटर राख्नेले ३ हजार र १२५ सीसीदेखि १६० सीसीसम्मले ५ हजार रुपैयाँ कर बुझाए हुन्छ । १६०सीसीभन्दा माथि २५० सीसीसम्म ६ हजार र २५० सीसी माथि ४०० सीसीसम्म ११ हजार रुपैयाँ कर तिर्नु पर्छ । ४०० सीसीभन्दा माथिका ग्राहकले २० हजार बार्षिक कर तिर्नु पर्ने व्यवस्था छ ।
गण्डकी/लुम्बीनी : गण्डकी/लुम्बीनी प्रदेशले समान सेग्मेन्टमा समान कर निर्धारण गरेका छन् । १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटर राख्नेले ३ हजार र १२५ सीसीदेखि १६० सीसीसम्मले ५ हजार रुपैयाँ कर बुझाए हुन्छ । १६० सीसीभन्दा माथि २५० सीसीसम्म ६ हजार ५०० र २५० सीसी माथि ४०० सीसीसम्म ११ हजार रुपैयाँ कर तिर्नु पर्छ । ४०० सीसीभन्दा माथि ६५०सीसीसम्म २० हजार र ६५० सीसीभन्दा माथिका मोटरसाइकलधनीले ३० हजार बार्षिक कर तिर्नु पर्ने व्यवस्था छ ।
कर्णाली : कर्णाली प्रदेशमा भने १५० सीसीसम्मका मोटरसाइकल तथा स्कुटरधनीले ४ हजार ३०० वार्षिक कर तिर्नु पर्नेछ । १५० सीसीदेखि २२५ सीसीसम्मका मोटरसाइकलधनीले ५ हजार ५०० रुपैयाँ कर बुझाउँदा २२५ सीसी माथि ४०० सीसीसम्मकाधनीले १० हजार वार्षिक कर तिर्नु पर्छ । त्यस्तै, ४०० सीसी माथि ६५० सीसीसम्मकाधनीले १६ हजार रुपैयाँ र ६५० सीसी माथिका मोटरसाइकलधनीले २० हजार कर बुझाउनु पर्छ ।
सुदूरपश्चिम : सुदूरपश्चीम प्रदेशमा १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा २ हजार ६०० रुपैयाँ वार्षिक कर लाग्छ । यो १२५ सीसी सेग्मेन्टमा सबैभन्दा कम कर हो ।
१२५ सीसभन्दा माथि १५० सीसीसम्म ४ हजार ८०० रुपैयाँ र १५० सीसीभन्दा माथि २५० सीसीमा ६ हजार रुपैयाँ कर निर्धारण गरिएको छ । २५० सीसीभन्दा माथि ४०० सीसीसम्मका मोटरसाइकलधनीले १० हजार रुपैयाँ कर तिर्नु पर्दा ४०० सीसीभन्दा माथिका मोटरसाइकलधनीले ११ हजार ५०० रुपैयाँ मात्र कर तिर्दा हुन्छ ।

