उपत्यकामा चल्ने भाडाका गाडीमा सीसी क्यामेरा जडान सुरू

काठमाडौं । काठमाडौं उपत्यकामा संचालन हुने सार्वजनिक सवारी साधनहरूमा सीसीटीभी क्यामेरा जडानको सुरू गरिएको छ ।

बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक कार्यक्रमका बीच सार्वजनिक सवारीमा सीसी क्यामेरा र ड्यासबोर्ड क्यामेरा जडानको सुरू गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले सार्वजनिक सवारी भित्र हुने चोरी, दुर्व्यवहार नियन्त्रण गर्न सीसी क्यामेरा जडान गर्न सुरू गरिएको जानकारी दिए । साथै, सीसी क्यामेरा राख्दा दुर्घटनाको कारण पत्ता लगाउन पनि सहज हुने उनले बताए ।

उनले यातायात व्यवसयीहरूसँग सहकार्य गरी सीसी क्यामेरा जडान सुरू गरिएको बताए । ‘सार्वजनिक सवारीमा सामान चोरी भएको, चालक/सहचालकले दुर्व्यवहार गरेको गुनासो आइरहन्छ । त्यसलाई न्यूनीकरण गर्न सीसी क्यामेरा राख्न सुरू गरिएको हो । साथै दुर्घटना हुँदा कारण/गल्ती पत्ता लगाउन समेत सजिलो हुन्छ,’ उनले मेरोअटोसँग भने ।

उनका अनुसार सार्वजनिक सवारीमा सीसी क्यामेरा जडान खर्च सवारीधनीले नै व्यहोर्नुपर्नेछ । जतिसक्दो चाँडो सबै सार्वजनिक सवारीमा सीसी क्यामेरा जडान गरिसक्ने लक्ष्य राखिएको उनले बताए । यातायात व्यवसायीहरू सकारात्मक रहेकाले यस कार्यले तीव्रता पाउने उनको विश्वास छ ।

उनले चाँडै लामो दूरीका सवारीमा जीपीएस सिस्टम जडान पनि सुरू गरिने बताए ।


Back_to_top