काठमाडौं । अघिल्लो साता भारतमा रेडो डस्टर सार्वजनिक भयो । प्रि-बुकिङ सुरू गर्न फ्रेन्च कार निर्माताले डस्टर सार्वजनिक गरेको थियो । यसको बिक्री अर्को महिनाबाट मात्रै सुरू हुँदैछ ।
रेनोको चर्चित एसयूभी डस्टरको नयाँ जेनेरेशन मोडल बजारमा आएसँगै छिट्टै सात सिट क्षमताको डस्टर र त्यसपछि सबैभन्दा कम मूल्यमा बिक्री गर्ने सब फोर मिटर साइजमा पनि डस्टर ल्याउन लागिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
अहिले डस्टरको ७ सिट क्षमताको मोडल परीक्षण भइरहेको तस्विरहरू पनि बाहिर आएका छन् । रेनोका सीईओ फेब्रिक क्याम्बोलिभले चार मिटरभन्दा छोटो साइजमा नयाँ एसयूभी आउने संकेत गरे । अहिले डस्टरको चर्चा धेरै भएको कारण धेरैले मिनी डस्टर आउने आँकलन गरेका हुन् ।
रेनोले भारतमा सब फोर मिटर सेग्मेन्टमा काइगर मोडल बनाउँदै आएको छ । तर, यसको बिक्री उल्लेखनीय संख्यामा नभएको कारण यसको उत्पादन रोकेर कम्पनीले डस्टरको मिनी भर्सन ल्याउने अनुमान सुरू भएको हो ।
नयाँ जेनेरेशन रेनो डस्टर वास्तविक एसयूभी लुक्स, अग्लो र बक्सी डिजाइनको कारण धेरैको ध्यान खिच्न सफल भएको मोडल हो । यसलाई नै सब फोर मिटरमा ल्याउन सकिए, भारतीय उपभोक्ताको लागि सरप्रइज प्याकेज बन्ने रेनोको बुझाइ छ ।

