काठमाडौं । भारतीय मोटरसाइकल निर्माता बजाजले सन् २०२६ मा आधा दर्जन भन्दा बढी नयाँ उत्पादनहरू बजारमा ल्याउने घोषणा गरेको छ ।
कम्पनीले आफ्नो ‘अर्निङ कल्स’ घोषणा कार्यक्रम अन्तगर्त अबको १ वर्षमा पुराना मोडल अपडेट र नयाँ मोडल गरी ८ वटासम्म नयाँ मोटरसाइकल बजारमा ल्याउने बताएको हो ।
बढ्दो लागत र नयाँ नियमहरूलाई मध्यनजर गर्दै कम्पनीले सहुलियत मूल्यका नयाँ मोडल बजारमा ल्याउने योजना बनाएको हो ।
बजाज अटोका कार्यकारी निर्देशक राकेश शर्माका अनुसार कम्पनीले आगामी १ वर्षमा आठवटासम्म नयाँ उत्पादनहरू बजारमा ल्याउने छ । गत तिहारदेखि यता बजाजले अपडेटेड भर्सन सहित ७ वटा मोडलहरू बजारमा सार्वजनिक गरिसकेको छ । अब २०२६ मा अझै धेरै नयाँ उत्पादन बजारमा आउने छन् ।
बजाजका लागि पल्सर वृद्धि र नाफाको मुख्य आधार भएकाले कम्पनीले आगामी दिनहरूमा पल्सरलाई नै मुख्य प्राथमिकतामा राख्ने उनले बताए । पल्सरको १५० र त्यो भन्दा माथिको सेग्मेन्टलाई कम्पनीले अझै मजबुत बनाउने र अबको हरेक महिना करिब दुईवटा नयाँ वा अपडेटेड मोडलहरू सार्वजनिक गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।
२०२६ मा कम्पनीले कम क्षमताका नयाँ मोडलका साथ प्लाटिनालाई अपडेट र अफरोड सेग्मेन्टमा पनि नयाँ मोटरसाइकलहरू ल्याउने छ ।
भारतमा नयाँ बजेट आएसँगै ३५० सीसी भन्दा माथिका मोटरसाइकलहरूमा नयाँ जीएसटी लागू भएको छ । यसले गर्दा ३५० सीसी भन्दा माथि सेग्मेन्टका मोटरसाइकलहरू महँगो हुने भएका छन् ।
बजाजले यसैलाई मध्यनजर गरी डोमिनार ४०० र एनएस ४०० मोडललाई इन्जिन क्षमता घटाएर ३५० सीसी इन्जिनमा बजारमा नयाँ मोडलका रूपमा ल्याउन सक्ने केही भारतीय मिडियाले बताएका छन् । साथै, अन्य देशमा निर्यात गर्नका लागि भने कम्पनीले ४०० सीसीलाई यथावत नै राख्ने रिपोर्टमा उल्लेख छ ।


