काठमाडौं । सौर्य एयरलाइन्सले डेढ वर्ष पछि पुनः उडान अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सको निलम्बन फुकुवा गर्दै उडान अनुमति दिएको हो ।
२०८१ साउन ९ गते पोखरा उडानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएसँगै प्राधिकरणले निलम्बन गर्दै उडानमा रोक लगाएको थियो । उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।
सौर्यले नेपाल सरकारद्वारा गठित हवाई दुर्घटना तथा जाँचबुझ आयोग र प्राधिकरणले दिएको सुझाव पालना, टेक्निकल सफ्टवेयर जडानपछि गरी सेफ्टी अडिटमा ६५ प्रतिशतभन्दा बढी अंक प्राप्त गरेपछि उडान अनुमति नवीकरण गरिएको प्राधिकरणले जनाएको छ ।
यसअघि प्राधिकरणले सौर्यको उडान अनुमति प्रमाणपत्र प्रतिबन्ध २०८२ साउन ३० मै फुकुवा गरेको थियो । तर, सेफ्टी अडिटमा ६० प्रतिशत पनि अंक कटाउन नसकेपछि उडान प्रतिबन्ध कायमै राखिएको थियो । अहिले सेफ्टी अडिटमा ६५ प्रतिशत बढी अंक प्राप्त गरेपछि प्रतिबन्ध फुकुवा भएको हो ।
प्राधिकरणका अनुसार सौर्यलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय, पोखरा अन्तर्राष्ट्रिय, चन्द्रगढी, विमानस्थल, विराटनगर, नेपालगञ्ज र धनगढी विमानस्थलमा उडान अनुमति दिइएको छ ।
उडान अवरुद्ध भए पनि हालसम्म नेपाल सरकार र नियामक निकायलाई बुझाउनुपर्ने शुल्क, कर्मचारीको तलब, भत्ता बाँकी नरहेको एयरलाइन्सले जनाएको छ ।
हाल कम्पनीसँग ९ एन-एलई र ९ एन-एएनएम कलसाइनको दुइटा जहाज छन् । कम्पनीले फागुन दोस्रो सातादेखि ९ एन-एएनएम जहाजबाट विराटनगर र भद्रपुर उडान गर्ने योजना बनाएको छ। ९-एनएलई कलसाइनको जहाज भने प्राविधिक समस्याका कारण ग्राउण्डेड छ।

