काठमाडौं । सल्यानमा बिरामी बोकेको बोलेरो जीप दुर्घटना भएको छ ।
रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ३५६१ नम्बरको पिकअप आज बिहान सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोलमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा बोलेरो चालक रुकुमपूर्व सिस्ने गाउँपालिका-४ अमलाचौरका ३१ वर्षीय विजय विश्वकर्मा रहेका छन् ।
दुर्घटनामा थप तीन जना घाइते भएका छन् । घाइते हुनेमा सिस्ने गाउँपालिका-२ नाइघाटकी ४० वर्षीया ललिता केसी, २२ वर्षीया सुष्मी रोका र १८ महिनाकी बालिका सफलता केसी छन् ।
घाइतेको उद्धार गरी कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा प्राथमिक उपचार गरिएको छ । उनीहरूलाई थप उपचारका लागि दाङको तुलसीपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुलेको छैन ।

