काठमाडौं । घरमै ३ किलोवाटको चार्जरले आफ्नो विद्युतीय कार चार्ज गर्दै हुनुहुन्छ भने धेरै बिजुली खेरजाने देखिएको छ । यसरी खेरजाने बिजुलीलाई ‘चार्जिङ लस’ भनिन्छ ।
अहिलेसम्म भएका विभिन्न अध्ययनले घरमै चार्ज गर्दा विद्युत् मिटरमा खर्च भएको देखिने सम्पूर्ण ऊर्जा गाडीको ब्याट्रीमा पुग्दैन । त्यसैले यसलाई चार्जिङ लस भनेर बुझ्ने गरिन्छ ।
जर्मनीको अटोमोबाइल क्लब एडीएसीले पाँच फरक विद्युतीय गाडीमा गरेको परीक्षणले कम क्षमताको चार्जर प्रयोग गर्दा ऊर्जा नोक्सानी बढी हुने देखाएको छ । परीक्षणमा मर्सिडिज-बेन्ज सीएलए, रेनो ५, टेस्ला मोडल वाई, भोल्भो ईएक्स ३० र फक्सवागन आईडी ७ गाडीहरू थिए ।
विद्युत् मिटरमा ३० किलोवाट आवर ऊर्जा खपत देखिए पनि गाडीको ब्याट्रीमा २७ किलोवाट आवर मात्रै लोड भएको हुन्छ । तर, विद्युतको बिल तिर्न जाँदा गाडीधनीले भने मिटरमा देखिएको पूरै ३० युनिटकै तिर्नुपर्छ । यहाँ ३ युनिट विद्युत चार्जिङ लस भएको देखिन्छ ।
एडीएसीको परीक्षणअनुसार टेस्ला मोडल वाइमा २.३ किलोवाटको मोबाइल चार्जर प्रयोग गर्दा १२.७ प्रतिशत ऊर्जा नोक्सानी भएको थियो । ११ किलोवाटको वाल चार्जर प्रयोग गर्दा भने यो घटेर ६.१ प्रतिशतमा सीमित भएको थियो ।
मर्सिडिज-बेन्ज सीएलएमा भने कम क्षमताको चार्जरबाट सबैभन्दा बढी २४.२ प्रतिशत ऊर्जा नोक्सानी देखियो । तर, ११ किलोवाटको चार्जर प्रयोग गर्दा यो घटेर ६.९ प्रतिशतमा झरेको रिपोर्टमा उल्लेख छ । रेनो ५ मा ११ किलोवाट चार्जर प्रयोग गर्दा सबैभन्दा कम ५.१ प्रतिशत चार्जिङ लस देखिएको थियो ।
चार्जिङ लसको मुख्य कारण घरबाट आउने एसी करेन्टलाई ब्याट्रीको लागि डीसीमा रूपान्तरण गर्नु पर्ने भएर हो । यो प्रक्रियामा गाडीको अनबोर्ड चार्जर, ब्याट्रीको तापक्रम व्यवस्थापन प्रणाली र अन्य विद्युतीय उपकरणले पनि ऊर्जा खपत गर्छ ।
यो रिपोर्टले विद्युतीय गाडी चढ्ने उपभोक्तालाई एउटा महत्वपूर्ण सन्देश दिएको छ । यदि तपाईं घरमै नियमित रूपमा ईभी चार्ज गर्दै हुनुहुन्छ भने २.२ किलोवाट वा ३ किलोवाटको चार्जर प्रयोग नगर्दा राम्रो देखिन्छ । उच्च क्षमताको वाल चार्जर दीर्घकालमा बढी किफायती र फाइदा जनक देखिन्छ ।
कम क्षमताको मोबाइल चार्जर आपतकालीन अवस्थामा उपयोगी भए पनि नियमित प्रयोग गर्दा चार्जिङ समय मात्र होइन, ऊर्जा नोक्सानीका कारण विद्युत् खर्च पनि बढ्ने देखिन्छ ।


