काठमाडौं । जापानी मोटरसाइकल निर्माता कावासाकीले घोडा जस्तै चार खुट्टाले चल्ने अफरोड सवारी बनाउने भएको छ ।
कावासाकीले हाइड्रोजन फ्युल मार्फत चल्ने चार खुट्टा भएको ‘कोर्लियो’ नामक सवारी निर्माण गरिरहेको हो । यो सवारी कार र मोटरसाइकलभन्दा पृथक किसिमको साधन हुने कम्पनीले बताएको छ ।
कम्पनीले यसको कन्सेप्ट मोडल पहिलो पटक ओसाका एक्स्पो २०२५ मा सार्वजनिक गरेको थियो । कम्पनीले अहिले यसलाई व्यवसायिक उत्पादनतर्फ अघि बढाउन सेफ एड्भेन्चर बिज्नेस डेभलपमेन्ट नयाँ टिम गठन गरेर काम गरिरहेको छ ।
कावासाकीले कोर्लियोका लागि छुट्टै राइडिङ सिमुलेटर पनि विकास गरिरहेको छ । कम्पनीले सन् २०२७ भित्रै यसको सिमुलेटर तयार गर्ने लक्ष्य राखेको छ । सिमुलेटरमार्फत कोर्लियोको संचालन शैली, राइडिङ विशेषता र चालकसँगको अन्तरक्रियाको परीक्षण गरिने छ ।

कोर्लियोमा पाँग्राको सट्टा चारवटा स्वतन्त्र रूपमा नियन्त्रण गर्न सकिने खुट्टा प्रयोग गरिएको छ । यसको पछाडिका खुट्टामा मोटरसाइकलमा प्रयोग हुने स्वीङआर्म प्रविधिबाट प्रेरित मेकानिजम राखिएको छ ।
यसमा १५० सीसी हाइड्रोजन इन्जिन प्रयोग हुनेछ । जसले विद्युत् उत्पादन गरी चारवटै खुट्टाका एक्ट्युएटरलाई शक्ति दिनेछ । हाइड्रोजन क्यानिस्टरलाई स्वाप गर्न मिल्ने गरी सेटअप गरिएको छ ।
कोर्लियोलाई घोडा दौडाए जस्तै चलाउन मिल्ने गरी डिजाइन गरिएको छ । कावासाकीले यसलाई पहाडी तथा असमान भू–भागमा प्रयोग गर्न सकिने सवारीका रूपमा विकास गरिरहेको हो ।
कावासाकीले रोबोटिक्स र दुईपाँग्रे सवारी प्रविधिलाई संयोजन गरेर विकास गरिरहेको कोर्लियोले भविष्यमा अफरोड मोबिलिटीको स्वरूप नै फरक पार्न सक्ने सम्भावना देखाएको छ । यद्यपि, उत्पादन संस्करणका प्राविधिक विवरण, लन्च मिति, मूल्य भने अझै सार्वजनिक गरेको छैन ।


