काठमाडौं । पछिल्लो समय विश्वभर विद्युतीय सवारी (ईभी)को ब्याट्री टेक्नोलोजीमा नयाँ नयाँ अनुसन्धान भइरहेका छन् । साथै, एकपछि अर्को सफलता पनि हात पर्दै गएको छ ।
यसैक्रममा, चीनमा आल्मुनियममा आधारित नयाँ ‘वाइड टेम्पेचर’ लिथियम आयन ब्याट्रीको परीक्षणमा ठूलो सफलता हात परेको छ । चिनियाँ एकेडेमी अफ साइन्सेसका अनुसन्धानकर्ताहरूले चीनको हेइलोङजियाङ प्रान्तमा जिली ईएक्स फाइभमा प्रयोग भएको नयाँ आल्मुनियम ब्याट्री परीक्षणमा ठूलो सफलता पाएका हुन् ।
सामान्यतया ईभीको ब्याट्रीहरू माइनस २० डिग्री सेल्सियसभन्दा तलको चिसो ठाउँमा पुगेपछि इफिसेन्सी ह्वात्तै घट्ने गर्दछ । तर, जिलीले प्रयोग गरेको नयाँ आल्मुनियम ब्याट्रीले माइनस २५ डिग्री सेल्सियसको अत्यधिक चिसोमा पनि ९२ प्रतिशतभन्दा बढी इफिसेन्सी देखाएको छ ।
साथै, यो परीक्षणको अर्को सफलता भनेको तीव्र ‘फास्ट चार्जिङ’ क्षमता हो । माइनस २५ डिग्रीको चिसोमा पनि उक्त ब्याट्री मात्र २० मिनेटमा ९० प्रतिशतसम्म चार्ज हुन सफल भएको थियो । जुन ईभी उद्योगका लागि निकै ठूलो उपलब्धि मानिएको छ।
परीक्षणका क्रममा जिली ईएक्स फाइभलाई लगातार २४ घण्टासम्म माइनस २५ डिग्रीको चिसोमा छाडिएको थियो । तर ब्याट्रीको प्रदर्शनमा कुनै ह्रास आएन।
यो ब्याट्रीमा परम्परागत सामग्रीको सट्टा आल्मुनियमको प्रयोग गरिएको छ । जसले गर्दा यो माइनस ७० डिग्रीदेखि प्लस ८० डिग्री सेल्सियस सम्मको तापक्रममा पनि स्थिर रहन सक्छ।
साथै, यो ब्याट्रीलाई चिसोमा चार्ज गर्न कुनै अतिरिक्त हिटिङ सिस्टम वा इन्सुलेसनको आवश्यकता पर्दैन। यो प्रविधि गाडीका लागि मात्र नभई ‘स्मार्ट ग्रिड’ ऊर्जा भण्डारणका लागि समेत उपयुक्त हुने बताइएको छ।
सन् २०२६ मा गरिएका विभिन्न अनुसन्धानहरूमध्ये यो परीक्षण सबैभन्दा सफल मानिएको छ । चीनले अहिले आल्मुनियमका साथै सोडियम आयन र सोलिड स्टेट ब्याट्रीहरूमा पनि काम गरिरहेको छ। यदि यो टेक्नोलोजी व्यावसायिक रूपमा सफल भएमा हिमाली र अत्यधिक चिसो क्षेत्रका बासिन्दाहरूका लागि इलेक्ट्रीक गाडी पहिलो रोजाइ बन्ने निश्चित छ।

