नाडा निर्वाचन सम्बन्धी रिट खारेज, शपथ ग्रहणको बाटो खुल्यो

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)को गत पुसमा सम्पन्न निर्वाचन प्रक्रिया अवैध भन्दै दायर रिट अदालतले खारेज गरेको छ ।

नाडाले गत पुस १७ गते निर्विरोध नयाँ कार्यसमिति चयन गरेको थियो । असन्तृष्ट पक्षले निर्वाचन कार्यतालिकै विना साधरण सभा बोलाएको र अवैध प्रक्रियाबाट नयाँ कार्य समिति चयन गरेको भन्दै अदालतमा रिट दायर गरेका थिए । सोही रिट अदालतले खारेज गरेको हो ।

रिट खारेज भएसँगै निर्वाचन सम्बन्धी कानुनी अवरोध हटोको र नवनिर्वाचित कार्यसमितिको शपथग्रहणका लागि मार्ग प्रशस्त भएको नाडाले जनाएको छ । यसअघि निर्विरोध कार्यसमिति चुनिए पनि अदालतमा रिट परेपछि शपथ ग्रहण रोकिएको थियो ।

नाडाका अनुसार अब नवनिर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम संस्थाको विधान, विधि तथा स्थापित प्रक्रियाअनुसार चाँडै सम्पन्न गरिने छ ।

नाडाले सम्मानित अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै उक्त निर्णयले सम्बन्धित विषयमा स्पष्टता ल्याएको तथा संस्थालाई आगामी दिनमा थप स्थिरता र एकताका साथ अघि बढ्न सहयोग र्पुयाउने विश्वास लिएको छ ।

साथै, नाडाले सम्पूर्ण सदस्य, सरोकारवाला निकाय तथा साझेदार संस्थाहरूसँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद तथा उद्योगमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।


Back_to_top