२५ लाख यात्रु बोकेर बिदा भयो बुद्धको एटीआर-७२ जहाज

काठमाडौं । बुध्द एयरले कल साइन ९ एन-एजेओ रहेको एटीआर-७२ जहाजलाई औपचारिक रुपमा बिदाइ गरेको छ । बुद्धले उक्त जहाजको पूर्ण क्षमता संचालनपछि बिदाइ गरेको हो ।

कुनै पनि एटीआर ७२ जहाज पूर्ण क्षमता संचालनपछि औपचारिक रुपमा बिदाइ गरेको यो विश्वमै पहिलो पटक हो ।

बुद्धको उक्त एटीआर-७२ जहाजको अधिकतम उडान क्षमता ७२ हजार साइकल रहेको छ । ‘साइकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाउँछ ।

२ जुलाइ २०१० देखि व्यवसायिक उडानमा गरेको यो एटीआर-७२ जहाजले अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट-काठमाडौंसम्म गरेको थियो । १६ वर्षे उडान अवधिभर यस जहाजले २४ लाख ८२ हजार ७७२ जना यात्रु बोकेको बुद्ध एयरले जनाएको छ ।

बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले यो जहाजले नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो, वातावरणमैत्री बनाउन ठूलो येगदान गरेको बताए ।

‘यस जहाजले नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो, वातावरणमैत्री बनाउन ठूलो येगदान दियो । यसले बुध्द एयरको बजार विस्तार तथा शाख बढाउन दुवैमा महत्त्वपूर्ण भूमिका खेलेको छ । हामीले एटीआर जहाजको पूर्ण आयु संचालन गर्ने ऐतिहासिक कीर्तिमान पनि कायम गरेका छौं,’ उनले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक टेकनाथ सिटौलाले बुध्द एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता र उत्कृष्ट मर्मत-सम्भार तथा व्यवस्थापनका कारण आज एटीआर जहाजलाई सफलतापूर्वक बिदाइ गर्न सम्भव भएको बताए ।

यसअघि बुद्ध एयरले आफ्नो एटीआर-४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा पनि बिदाइ गरेको थियो । बुद्ध एयर नेपालको सबैभ्न्दा ठूलो आन्तरिक हवाई सेवा कम्पनी हो ।

बुद्धले काठमाडौंबाट देशका प्रमुख गन्तव्यहरू र पोखराबाट सिधा नेपालगंज, भैरहवा र भरतपुरको उडान गरिरहेको छ ।  साथै अन्तर्राष्ट्रियतर्फ भारतको वाराणसी तथा कोलकाता पनि उडान भरिरहेको छ ।


Back_to_top