काठमाडौं । इटालियनी ब्राण्ड मोर्बिडेलीको बिग बाइक नेपाल भित्रिएको छ । वैद्य ग्रुपले मोर्बिडेली टी १००२ भीएक्स मोडल नेपाल ल्याएको हो ।
उक्त मोटरसाइकल काठमाडौंको सडकमा देखिएको छ । वैद्य ग्रुपले गत साउनमा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा मोर्बिडेलीका २५० सीसी र ३५० सीसीका एड्भेन्चर मोटरसाइकल प्रदर्शनी गरेको थियो ।
कम्पनीले सो बेला अप्रिल २०२६ सम्ममा नेपालमा मोर्बिडेलीका मोटरसाइकल सार्वजनिक गर्ने बताएको थियो । यसैक्रममा मोर्बिडेली टी १००२ भीएक्स काठमाडौंमा देखिनुले कम्पनीले यसको बिक्री सुरू गर्ने तयारी भइरहेको बुझ्न सकिन्छ ।
कम्पनीले आधिकारिक मिति घोषणा नगरे पनि नेपाली नयाँ वर्षको सुरूमै बिक्री थाल्ने अनुमान छ ।
मोर्बिडेली टी १००२ भीएक्स प्रिमियम एड्भेन्चर मोटरसाइकल हो । यो मोटरसाइकलमा ९९७ सीसी भी ट्वीन ८ भल्भ इन्जिन रहेको छ । यो इन्जिनले ८८.५ हर्षपावर र ८९ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथै स्लिपर क्लच उपलब्ध छ । २
यो मोटरसाइकलको फ्रन्टमा केवाइबीको ४३ एमएम फुल्ली एडजष्टेबल यूएसडी फोर्क र रियरमा केवाइबी मल्टिलिंक मोनोशक सस्पेनस पाउन सकिन्छ ।
मोर्बिडेली टी १००२ भीएक्सको फ्रन्ट ह्वीलमा ३२० एमएम ट्वीन डिस्क र रियरमा २६० एमएम सिंगल डिस्कसहित बशको एबीएस सिस्टम उपलब्ध छ ।
यसको अगाडि १९ र पछाडि १७ इन्चको ट्युबलेस स्पोक ह्वील दिइएको छ । यो एड्भेन्चर टूरर मोटरसाइकलमा २० लिटरको इन्धन ट्याङ्क छ । यसको सिट हाइट ८२० एमएम मात्र छ ।
यो मोटरसाइकलमा ७ इन्च टीएफटी स्क्रीनका साथै, ब्लुटूथ कनेक्टिभिटी उपलब्ध छ । यसमा चार राइडिङ मोड रेन, स्ट्याण्डर्ड, स्पोर्टस् र अफरोड पाउन सकिन्छ । यसमा ट्रयाक्सन कन्ट्रोलका साथै क्रुज कन्ट्रोज जस्ता फिचर उपलब्ध छन् । यसमा हिटेड ग्रिप, हिटेड सिट, अल एलईडी सेटअप र एडजष्टेबल विन्ड स्क्रीन उपलब्ध छ ।

