काठमाडौं । मुग्लिन-पोखरा सडक योजना अन्तर्गत पूर्वी खण्ड (आँबुखैरेनी-जामुने) सडक निर्माण पूरा भएको हो ।
निर्माण कम्पनीले तोकिएको समयभन्दा झण्डै २ वर्ष ढिला सम्पन्न गरी सोमबार सरकारलाई हस्तान्तरण गरेको हो ।
४१.५ किलोमिटर लामो यो सडक बजार क्षेत्रमा ६ लेन र अन्यत्र चार लेनमा निर्माण भएको छ ।
मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)का सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले आगामी ५ वर्षसम्म सडकको मर्मत सम्भार निर्माता कम्पनीले गर्ने जानकारी दिए ।
यो सडक विस्तारको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पाएको थियो ।
यो सडक विस्तारको २०७७ माघ १७ गते ठेक्का सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरू भएको थियो । ठेकेदारको ढिलासुस्ती, साइट क्लियरेन्स लगायत कारणले यो सडकको म्याद चौथो पटकसम्म थपिएको थियो ।
जामुने पोखरा पश्चिम खण्डको पनि काम अन्तिम चरणमा पुगेको छ । ३८ किमी लामो यसखण्डको काम चालु वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य छ ।


