मुग्लिन-नारायणगढ सडकको ४३ ठाउँमा पहिरोको जोखिम

फाइल तस्बिर ।

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिम देखिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययनले यस्तो देखाएको हो ।

कार्यालयका अनुसार नारायणगढ-मुग्लिन सडकको ८ ठाउँ उच्च जोखिम, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेको छ ।

कार्यालयका इञ्जिनियर अर्जुन घिमिरे तुइन खोला अति उच्च जोखिम रहेको बताए । त्यस्तै, काली खोला, नाम्सी खोला, मौरी खोला, सेती दोभान, चार किलो (दुईठाउँ) र तुइन खोला-चिसेन्जी बीचको भागमा उच्च जोखिम रहेको उनले जानकारी दिए ।

त्यसैगरी, १६ किलो, १७ किलो, डुम्रे खोला, सिमलताल लगायत २२ ठाउँमा पहिरोको जोखिम रहेको उनले बताए ।

उनले पहिरो नियन्त्रणका लागि बोलपत्र आह्वानको तयारी गरिएको बताए । तुइन, काली र नाम्सी खोलामा पहिरो रोकथाम गर्न खरिद गुरुयोजना स्वीकृतिका लागि माघ २३ गते सडक विभाग पठाइसकिएको छ । विभागले डिजाइन कार्यसमेत अन्तिम चरणमा र्पुयाएको उनले बताए। यी ठाउँमा पहिरो नियन्त्रणका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

तीबाहेकका अन्य ठाउँमा पहिरो रोकथामका लागि २० करोड बजेट विनियोजन भएको छ ।

मुग्लिन–नारायणगढ सडक संघी राजधानी काठमाडौं जोड्ने लाइफ लाइन सडक हो । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।


Back_to_top