काठमाडौं । दक्षिण कोरियाली कार निर्माता हुन्डाईले आफ्नो विद्युतीय सवारीसाधनको दायरा विस्तार गर्दै दुई नयाँ विद्युतीय एसयूभी बजारमा ल्याउने तयारी गरेको छ ।
कम्पनीले ग्लोवल मोडलको रुपमा आगामी १२ देखि १८ महिनाभित्र सानो र मध्यम आकारका दुई विद्युतीय एसयूभी बजारमा ल्याउने भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका अनुसार आयोनिक ४ र आयोनिक ७ नामबाट ती दुई एसयूभी आउन सक्ने छन् ।
हुन्डाईका विद्युतीय कार आयोनिक ५ र आयोनिक ६ फरक डिजाइनका कारण चर्चामा छन् । तर, सबै ग्राहकलाई यस्तो डिजाइन मन नपर्न सक्ने र पारिवारिक प्रयोगका लागि बढी व्यावहारिक, फराकिलो तथा परम्परागत एसयूभीको माग बढिरहेको विश्लेषण गर्दै कम्पनीले नयाँ मोडल विकास गर्न लागेको हो ।
प्रस्तावित आयोनिक ४ सानो विद्युतीय एसयूभी हुनेछ । यसको डिजाइन हालका आयोनिक मोडलभन्दा बढी ठाडो र बाक्सी आकारमा हुने अपेक्षा छ । प्राविधिक रूपमा आयोनिक ३ मा प्रयोग भएका ४२ र ६१ किलोवाट आवरका ब्याट्री विकल्प तथा ४०० भोल्ट आर्किटेक्चरमा बन्ने अनुमान छ ।
सम्भवत यो मोडल भारतमा उत्पादन गर्न लागिएको ‘एचई-१’ नै हुनेछ । कम्पनीले एशिया र युरोपमा फरक स्पेकको साथ यसलाई बिक्री गर्ने अनुमान गर्न सकिन्छ । आगामी जनवरी २०२७ मा भारतीय बजारमा एचई-१ सार्वजनिक हुनेछ ।
भारतमा बन्ने यो एसयूभी नेपाली बजारमा पनि हुन्डाईले बिक्री गर्नेछ । यसको साइज ४ मिटर हाराहारी हुने बताइएको छ ।
त्यस्तै, आयोनिक ७ आयोनिक ५ र ठूलो तीन पङ्क्तिको सिट भएको आयोनिक ९ बीचको मोडल हुनेछ । यो आयोनिक ९ भन्दा केही सानो भए पनि यसको आकार र बनोट ठूलो एसयूभीको नजिक रहने अनुमान छ । यसमा ८०० भोल्ट विद्युतीय संरचना प्रयोग हुन सक्नेछ ।
नयाँ मोडलमार्फत हुन्डाईले फरक डिजाइनसँगै पारिवारिक उपयोगिता, भित्री फराकिलोपन र व्यावहारिकतालाई प्राथमिकता दिँदै आफ्नो विद्युतीय सवारीको बजार विस्तार गर्न खोजेको देखिन्छ ।

