काठमाडौं । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटनामा परेको छ ।
उक्त दुर्घटनमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।
ना ७ ख ४३८७ नम्बरको बस धादिङको गजुरी नगरपालिका ६ बन्छेटारमा आइतबार बिहान त्रिशूली नदीमा खसेको हो।
दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको शव बाहिर निकालिएको र एक जनाको शव पानीमै रहेको प्रदेश नम्बर ३ का प्रहरी प्रमुख डिआईजी दीपक थापाले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका २५ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेहरुको गजुरी, आदमघाट र गल्छीका अस्पताल तथा हेल्थपोष्टहरुमा उपचार भइरहेको छ ।
मृतक र घाइतेको परिचय खुलेको छैन । बसमा कति यात्रु थिए भन्ने पनि एकिन नभएको डिआईजी थापाले जानकारी दिए । प्रहरीका अनुसार चालक सम्पर्कमा छैनन् ।


