बाहिरियो पोलो इलेक्ट्रीकको प्रोडक्सन भर्सन

काठमाडौं । युरोपियन जाइन्ट फक्सवागेन ग्रुपले आफ्नो चर्चित ह्याचब्याक कार पोलोको इलेक्ट्रीक मोडल तयार पारेको छ ।

कम्पनीले चाँडै बजारमा ल्याउने तयारी गरिरहेको ‘आइडी पोलो ईभी’को प्रोडक्सन भर्सनको स्पाइ तस्बिर बाहिरिएको हो । कम्पनीले सम्भवतः सन् २०२६ मेसम्म यो ईभी लन्च गर्नेछ ।

पोलो ईभीको वनोट पहिले बन्द भइसकेको आइस मोडेल जस्तै देखिन्छ । ऐतिहासिक पोलोको पुरानो र साधारण लुक्सलाई यसमा पनि धेरै हदसम्म निरन्तरता दिइएको छ । यसले पोलोका पुराना पारखीहरूलाई अझ आकर्षित गर्नेछ ।

पोलो ईभीका अधिकांश फिचरहरू ‘आईडी २अल’ कन्सेप्ट जस्तै हुने सुनिश्चित छ । यसमा र्यापअराउण्ड हेडल्याम्प, माथि पट्टि राखिएको एलईडी डीआरएल, बन्द गरिएको ग्रिल र बम्परमा स्लेटेड डिजाइन रहेका छन्। साइड प्रोफाइलमा गोलाकार ह्वील आर्क, अगाडिको ढोकामा साधारण ह्याण्डल, पछाडिको ढोकाको ह्याण्डल सी-पिलरमा राखिएको, कालो बी-पिलर र विस्तारै तल झरेको छतको लाइन देखिन्छ ।

पोलो ईभीको चार्जिङ पोर्ट दायाँ तर्फ अगाडिको फेन्डरको ठीक माथि राखिएको छ । सम्भवतः पोलो ईभी जीटीआईमा छुट्टै र अझै स्पोर्टी एलोय ह्वीलहरू हुनेछन्। यो फोक्सवागनको पहिलो विद्युतीय जीटीआई मोडल हुनेछ।

कम्पनीले यसमा ८५ किलोवाट र ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिनेछ । फोक्सवागनले आईडी पोलो ईभी ३८ किलोवाट आवर र ५६ किलोवाट आवरको दुई ब्याट्री प्याक अप्सन पाइने छ । ठूलो ब्याट्री प्याक भएको भेरियन्टले ४५१ किलोमिटरसम्मको रेन्ज दिनेछ। सबै भेरियन्टहरू फ्रन्ट ह्वील ड्राइभ हुनेछन् । यसले १२५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्नेछ । पोलो ईभी जीटीआई भेरियन्टले अधिकतम २२६ हर्षापावर उत्पादन गर्नेछ ।

पोलो इलेक्ट्रीकको लम्बाइ ४०५३ एमएम, चौडाइ १८१६ एमएम र उचाइ १५३० एमएम रहनेछ । यसमा २६०० एमएम लामो ह्वीलबेस रहने छ । यसमा स्पोर्टी अलोय ह्वील रहने छन् ।

पेट्रोल इन्जिन भएको पोलोको तुलनामा इलेक्ट्रीक मोडल भित्र धेरै फराकिलो हुनेछ । आईडी पोलो ईभीमा फोक्सवागनले व्यवहारिकता र प्रयोगमा सहजतालाई ध्यान दिएको छ। यसमा व्यापक डिजिटल सेटअपका साथै धेरै फिजिकल भौतिक बटनहरू पनि छन् । यसमा १३ इन्चको ठूलो टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले रहने छन ।

यसमा गल्फ एमके १ बाट प्रेरित ‘रेट्रो मोड’को अप्सन दिनेछ । जसमा टचस्क्रीनमा टेप डेक स्टाइलको यूआई र ड्राइभरको डिस्प्लेमा पुरानो एनालग जस्तो देखिने डायलहरू देखिन्छन्। भोल्युम कन्ट्रोल र रेडियो स्टेशन परिवर्तन गर्न रोटरी डायलहरू पनि छन्। स्टेयरिङ ह्वीलमा मिडिया र ड्राइभर असिस्टेन्सका कामहरू गर्न धेरै बटनहरू दिइएका छन्। पोलो इलेक्ट्रीक एमईबी प्लस प्लेटफर्ममा आधारित फोक्सवागनको पहिलो मोडल हुनेछ ।

फक्सवागेन पोलो नेपालमा पनि निकै सफल ह्याचब्याक हो । १.० लिटर पेट्रोल इन्जिनमा उपलब्ध पोलो ह्याचब्याक राम्रो संख्यामा बिक्री भएको थियो । भारतमा पोलोको उत्पादन बन्द भएसँगै नेपालमा पनि आउन बन्द भएको थियो । नयाँ आउने ईभी साइज र पावरका आधारमा नेपालका लागि उपयोगी देखिन्छ ।


Back_to_top