धमाधम बढ्दै इलेक्ट्रीक कारको मूल्य

काठमाडौं । विद्युतीय कारको मूल्य धमाधम बढ्न थालेको छ । चीनबाट आउने विद्युतीय कारको मूल्य बिक्रेताहरूले बढाउन थालेका हुन् ।सवारी बिक्रेताहरूले सन् २०२५ डिसेम्बर यता धमाधम ईभीको मूल्य बढाउन थालेका हुन् ।

आयातकर्ता कम्पनीले मूल्य बढाउनु पर्ने अवस्था सृजना हुनुमा थुप्रै कारण रहेको बताएका छन् । उनीहरूका अनुसार आयात गर्दा लाग्ने भाडामा वृद्धि हुनु, बिक्रेताले नै गाडीको मूल्य बढाउन थाल्नु र डलरसँग नेपाली मुद्राको ‘एक्सचेन्ज रेट’ बढ्नु जस्ता कारणले मूल्य बढेको हो ।

‘हामीले १ डलरको मूल्य १३९/४० हुँदा मूल्य निर्धारण गरेका थियौं । अहिले १ अमेरिकी डलरको एक्सचेन्ज रेट १५० रुपैयाँभन्दा माथि पुग्यो । यसले गाडीको मूल्यमा सबैभन्दा धेरै असर गरेको छ,’ पारामाउन्ट मोटर्सका निर्देशक शिरिष मुरारकाले भने ।

मुरारका अनुसार गाडीको मूल्य बढाउनै पर्ने दबाबमा बिक्रेता छन् । केही कम्पनीले बढाउन थालिसकेको र छिट्टै थप बढ्ने अवस्था छ ।

गत साता मात्रै बीवाइडीले आफ्नो लाइनअपमा रहेका चल्तीका सबै मोडलको मूल्य बढायो । कम्पनीले ७५ हजारदेखि ३ लाखसम्मले मूल्य वृद्धि गरेको थियो । साइमेक्सले पछिल्लो दुई महिनामै सिलायन सेभेनको मूल्य ५ लाख रुपैयाँ बढाइसकेको छ । यसरी मूल्य वृद्धि गर्नु पर्ने कारण साइमेक्स इंकले एक्सचेन्ज रेट, ट्रान्सपोर्ट खर्च वृद्धि लगायतलाई देखाएको छ ।


नेपाली बजारमा आइकार भी-२३ को मूल्य ४७ लाखभन्दा कम हुने बताएको एसपीजी अटोमोबाइल्स कम्पनीले सुरूमा आएको ५० युनिट कार ४७ लाखमा बिक्री गरेको थियो । त्यसपछि आएका सबै आइकारको मूल्य बढाएर ४९ लाख ९९ हजार बनाइयो ।

‘डलरको असर मूल्यमा पर्यो । त्यसलाई कुनै उपाय लगाएर घटाउन सकिएन । त्यसैले लन्च भएको दुई सातामा नै मूल्य बढाउन बाध्य भयौं,’ एसपीजी अटोमोबाइल्सका निर्देशक गौरब शारडाले मेरोअटोसँग भने ।

अहिले पनि निरन्तर डलर बलियो बन्दै जाँदा कार महँगो हुने क्रममै देखिन्छ । त्यसैले गाडी बिक्रेताले मूल्य बढाउन थालेका हुन् । यही क्रममा जिलीको बिक्रेता एलआरआर ग्रुपले पनि ईएक्स फाइभ एसयूभीमा २ लाख रुपैयाँले मूल्य बढाएको छ ।

माथि, चर्चा गरिएका ब्राण्ड बाहेकका उत्पादनको पनि मूल्य बढ्ने पक्षेपण भइरहेका छन् । त्यसमा चीनमा बढ्दो हाइ भोल्टेज ब्याट्रीको असर अझै बजारमा आइसकेको छैन ।


चीनमा सन् २०२६ को मध्यसम्ममा हाइ भोल्टेज ब्याट्रीको मूल्य बढ्ने कुरा बाहिर बाहिर आएको छ । केही उत्पादकले बढेको मूल्यमा नै ब्याट्री बेच्न थालिसकेको बताउँदै जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा भन्छन्, ‘मूल्य बढ्ने कारणहरू थपिँदै गएका छन् । विगतमा जस्तो विद्युतीय कारमा मूल्य घटाउने प्रतिस्पर्धा होइन, बढाउने प्रतिस्पर्धा सुरू हुनसक्छ ।’

अहिले देखिएको अन्तर्राष्ट्रिय ऊर्जा युद्धको अवस्थाले हरेक क्षेत्रमा असर देखिन थालेको छ । मध्यपूर्वमा चलिरहेको द्धन्द्धको कारण पेट्रोलियम पदार्थको चरम अभाव विश्वका धेरै देशमा देखिन थालेको छ । त्यसैले विद्युतीय गाडीको माग पनि बढिरहेको छ ।

नेपाल जस्तो देशको लागि बहुउपयोगी विद्युतीय साधनको मूल्य बढ्न थाल्दा छिट्टै गाडी किन्ने योजना बनाएका मानिसलाई भने चिन्ताले सताउन थालेको छ ।


Back_to_top