चीनमा बन्यो ३०० डिग्री तातोमा केही नहुने ब्याट्री

काठमाडौं । चिनियाँ विज्ञान प्रतिष्ठानको अनुसन्धान टोली ३०० डिग्री तातोमा पनि थर्मल रनवे नहुने सोडियम आयन ब्याट्री विकास गरेको रिपोर्ट आइटी होमले प्रकाशित गरेको छ ।

पूर्ण रूपमा थर्मल रनवेको जोखिम घटाउने उक्त सोडियम आयन ब्याट्री चिनियाँ भौतिक विज्ञान संस्थानमा हु योङशेङको नेतृत्वमा रहेको टोलीले विकास गरेको जनाइएको छ ।

रिपोर्टमा गरिएको दाबी अनुसार नयाँ ब्याट्रीमा पोलिमराइजेबल गैर ज्वलनशील इलेक्ट्रोलाइटको कारण थर्मल रनवेको सम्भावना न्यून भएको हो ।

नयाँ सोडियम आयन ब्याट्री भित्र तापक्रम १५० डिग्री सेल्सियसभन्दा बढी हुने बित्तिकै इलेक्ट्रोलाइट तरल अवस्थाबाट ठोस अवस्थामा रुपान्तरण हुन्छ । त्यसले तातो प्रसार क्रमलाई रोक्छ ।

प्रतिष्ठानले नयाँ ब्याट्री ३.५ एम्पियर आवरको साइज र सिलिण्डर आकारको बनोटमा तयार पारेको थियो । त्यसलाई ३०० डिग्री तातोमा राखेर परीक्षण गरेको दाबी गरिएको छ ।

साथै, उक्त ब्याट्रीको नेल पेनिट्रेसन टेस्ट गर्दा कुनै किसिमको धुवाँ आउने, पड्कने र आगलागी हुने अवस्था सृजना भएन । यसले लिथियम आयनको विकल्पमा नयाँ ब्याट्री निकै मजबुत भएर आउन लागेको संकेत गर्छ ।


Back_to_top