नाइमाका सुझाव बजेटमा समेट्ने अर्थमन्त्रीको आश्वासन

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) प्रतिनिधि मण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटी अटोमोबाइल क्षेत्रका लागि सुझाव दिएको छ ।

नाइमा अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. वाग्लेलाई अटोमोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित नीतिगत सुझावहरू प्रस्तुत गरेको हो ।

नाइमाले स्थिर पूर्वानुमानयोग्य तथा सरोकारवालासँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गरेको छ । नाइमाले अटो क्षेत्र विलासिता होइन, आवश्यक क्षेत्रका रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको छ।

साथै, कर संरचनालाई सहज र सन्तुलित बनाउने, लोन टु भ्यालु रेसियो ८०/२० अनुपातमार्फत वित्तीय पहुँच सहज बनाउने आवश्यकता पनि औंल्याएको छ ।

आर्थिक ऐनअनुसार भन्सार क्लियरन्स भइसकेपछि पनि अडिट तहमा फरक व्याख्याका आधारमा बेरुजु उठ्ने प्रवृत्तिले व्यवसायिक वातावरणमा अन्योल र अनिश्चितता सिर्जना गरेको भन्दै नाइमाले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

नाइमाले विद्युतीय तथा हाइब्रिड सवारी साधनहरूको स्पष्ट वर्गीकरण तथा सबै प्रविधिमा समान कर व्यवहार सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।

नाइमाले भन्सार प्रक्रिया सहजीकरण, परीक्षण सुविधा, यातायात ऐनको पुनरावलोकन, डिजिटल एकीकरण, सडक सुरक्षा तथा प्रदूषण नियन्त्रणका विषयमा सुझाव दिएको छ। साथै, ‘मेक इन नेपाल’ अन्तर्गत एसेम्बलिङ उद्योग प्रवद्र्धन र दीर्घकालीन नीतिगत स्थिरतामा जोड दिइएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नाइमाले प्रस्तुत सुझावहरूलाई अत्यन्त सान्दर्भिक रहेको बताए । उनले देशका आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट एकीकृत रूपमा यस्ता सुझावहरू प्रस्तुत गरेकोमा नाइमा लाई धन्यवाद व्यक्त गरे।

साथै, प्रस्तुत सुझावहरूलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा यथासम्भव समेट्ने पनि बताए ।


Back_to_top