काठमाडौं । भक्तपुर टुर्स रिसर्च सेन्टरले भक्तपुरको जगाती र ठिमी पुल आसपासको राजमार्गलाई राष्ट्रिय स्तरको सवारी साधन (अटो) बजार घोषणा गर्न माग गरेको छ ।
सेन्टरले यस क्षेत्रलाई अटो बजारका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उक्त माग गरेको हो ।
जगाती र ठिमी पुल क्षेत्रमा सेवागहीले सहज रूपमा राजमार्गमै राइड टेस्ट गर्न सक्ने, एकै स्थानमा दुईपाङ्ग्रे, चार पाङ्ग्रे लगायत सबै सवारी उपलब्ध हहुने, सवारी साधन स्टक राख्न र व्यवस्थापनका लागि पर्याप्त जग्गा जमिन उपलब्ध रहेको जनाइएको छ ।
हाल काठमाडौंका विभिन्न स्थानहरूमा अघोषित रूपमा संचालन भइरहेका अटो बजारमा सेवाग्राही तथा व्यवसायी दुवै पक्षले विभिन्न समस्याहरू भोग्नुपरेको सेन्टरले उल्लेख गरेको छ ।
सेन्टरका अनुसार नक्साल क्षेत्रमा ग्राहकलाई टेस्ट राइड गराउन होटल तथा पार्कहरूमा अतिरिक्त व्यवस्था गर्नुपर्ने बाध्यता छ । त्यस्तै, थापाथली क्षेत्रमा गोदाम अभावका कारण सवारी साधन बुकिङ र डेलिभरीमा असमानता देखिएको, टेकुमा अटो पार्ट्स गोदाम अभाव रहेकाले व्यवसाय संचालनमा कठिनाइ भइरहेको सेन्टरको भनाइ छ ।
जगाती-ठिमी क्षेत्रलाई अटो बजार घोषणा गरे यी सबै समस्या समाधान गर्न सक्ने सम्भावना रहेको सेन्टरले जनाएको छ । यसले सेवाग्राहीलाई सहज, सुरक्षित र पारदर्शी सेवा प्राप्त हुने, व्यवसायीहरूलाई व्यवस्थित रूपमा व्यापार सञ्चालन गर्न सहज हुने, सहरको ट्राफिक व्यवस्थापनमा सुधार आउने तथा सरकारलाई राजस्व संकलनमा वृद्धि हुने अपेक्षा गरिएको छ।

