एकैदिनमा १९ प्रतिशतसम्म घट्यो कच्चा तेलको मूल्य

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ते युद्धविरामको घोषणा गरेपछि बुधबार विश्व बजारमा कच्चा तेलको मूल्य १९ प्रतिशतसम्म घटेको हो ।
ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज तत्काल खोल्ने सर्तमा युद्धविराम गर्ने बताएपछि अधिकांश बेन्चमार्कको मूल्यमा भारी गिरावट आएको हो ।

बुधबार बिहान (७ः१५ बजेसम्म) मुर्बान क्रुड आयको मूल्य १८.८५ प्रतिशतले घटेर प्रतिब्यारेल ९६.७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । मंगलबार मुर्बान क्रुडको भाउ प्रतिब्यारेल ११९.२६ डलर थियो ।

त्यस्तै, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लूटीआइ) कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब २० डलर अर्थात् १६.०२ डलरले घटेर प्रतिब्यारेल ९४.८५ डलरमा कारोबार भइरहेको छ ।

विश्व बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य १४ प्रतिशतले घटेर प्रतिब्यारेल ९४.३९ डलरमा कारोबार भइरहेको छ । त्यस्तै, अन्य विभिन्न देशका बेन्चमार्क क्रुड आयलको भाउ पनि १३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

इरानले स्ट्रेट अफ हर्मुजबाट जहाज सुरक्षित आवतजावत गर्न दिने भएसँगै तेलको सहज आपूर्ति हुने अपेक्षा गरिएको छ । यद्यपि, दुई साताका लागि मात्रै युद्धविराम भएकाले दीर्घकालीन राहत मिल्ने भने देखिँदैन । हर्मुज जलमार्गबाट विश्वमा दैनिक खपत हुने करिब २० प्रतिशत तेल ढुवानी हुन्छ ।

अमेरिका इजरायल इरान युद्धका कारण मार्च महिनामा मात्रै कत्ता तेलको भाउ ५० प्रतिशतले बढेको थियो । जसले समग्र विश्व अर्थतन्त्रमै असर पारिरहेको छ ।


Back_to_top