काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइ तीव्र बताएको छ । केन्द्रले हाल दैनिक ४० हजार थान लाइसेन्स छाप्न थालेको हो ।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले हाल दैनिक करिब ४० हजार हाराहारी थान लाइसेन्स छपाइ भइरहेको जानकारी दिए । उनले आगामी वैशाख १२ गते भित्रै १२ लाख थान लाइसेन्स छापिसक्ने बताए ।
‘लाइसेन्स छपाईलाई प्राथमिकतामा राखी काम तीव्र पारिएको छ । हाल दैनिक करिब ४० हजार थान लाइसेन्स छपाइ भइरहेको छ । वैशाख १२ गतेभित्रै १२ लाख थान छापिसकिन्छ,’ उनले भने ।
यातायात व्यवस्था विभागका अनुसार हालसम्म करिब २९ लाख थान लाइसेन्स छाप्न बाँकी छ । सोमध्ये वैशाख १२ भित्र १२ लाख छापिसकिने छ । बाँकी १७ लाख लाइसेन्स आगामी असार मसान्त भित्रै छापिसक्ने लक्ष्य राखिएको छ ।
हाल १७ लाख लाइसेन्स छपाइका लागि विभाग र केन्द्र बीच सम्झौताको तयारी भइरहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रीले डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई ‘लाइसेन्स’ छपाइमा अवरोध आउन नदिन तथा छिटोभन्दा छिटो सबै बाँकी लाइसेन्स छाप्न निर्देशन दिएका छन्।
मन्त्रालयले नतिजामुखी शासकीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले १० प्रमुख सुधारात्मक कार्यक्रम समेटिएको विस्तृत कार्ययोजनामा समेत यो विषयलाई प्राथमिकताका साथ राखेको छ।
मन्त्रिपरिषद्को यही चैत १३ गतेको निर्णयअनुसार सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो कार्ययोजना अघि बढाइएको हो।
यसैबीच, सेवाग्राहीलाई थप सहजताका लागि यातायात व्यवस्था विभागले दैनिक रूपमा छपाइ भएका तथा वितरण गरिने लाइसेन्सको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ । यसले सेवाग्राहीलाई आफ्नो लाइसेन्सको अवस्थाबारे सहज रूपमा जानकारी लिन सहयोग र्पुयाउनेछ।
त्यस्तै, छपाइ सम्पन्न भएका लाइसेन्स हुलाक सेवामार्फत जतिसक्दो चाँडो देशभरका विभिन्न यातायात कार्यालयमा पठाइने व्यवस्था गरिएको छ। यसले वितरण प्रक्रियालाई समेत व्यवस्थित बनाएको छ । यही गतिमा काम अघि बढ्ने हो भने लामो समयदेखि थाँती रहेको लाइसेन्स वितरणको समस्या निकट भविष्यमै पूर्ण रूपमा समाधान हुने अपेक्षा गरिएको छ।


