काठमाडौं । नेपाल आयल निगमले बाह्य हवाई इन्धन बाहेक अरू सबै पेट्रोलियम पद्धार्थमा घाटा रहेको जनाएको छ ।
निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो १५ दिनमा मात्रै करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको जानकारी गराएको हो ।
मध्यपूर्वमा चर्किएको द्धन्द्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै आकाशिएको छ । भारतबाट बढेर आउने मूल्य अनुपातमा नेपालमा बिक्री मूल्य समायोजन नहुँदा नोक्सानी चुलिएको निगमले जनाएको छ ।
निगमका अनुसार खाना पकाउने एलपी ग्यासमा सबैभन्दा धेरै प्रतिसिलिण्डर ३३१.२५ रुपैयाँ घाटा रहेको छ । त्यसैगरी, डिजेलमा प्रतिलिटर ८७.९९ रुपैयाँ, पेट्रोलमा २.३२ रुपैयाँ, मट्टितेलमा ३६.७० रुपैयाँ र आन्तरिक हवाई इन्धनमा ९२ पैसा घाटा रहेको निगमले जनाएको छ ।
निगमलाई बाह्यतर्फको हवाई इन्धनमा भने प्रतिलिटर ६.५२ रुपैयाँ नाफा रहेको छ ।
सरकारले गत साता पेट्रोल र डिजेल आयातामा लाग्ने भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिएको थियो । त्यसले उपभोक्तालाई राहत नमिले पनि निगमको नोक्सानी घटाउन सहयोग पुर्याएको छ ।
यसैबीच, निगमले पछिल्लो समय सामाजिक संजालमा इन्धनको मूल्यलाई लिएर फैलिएका नकारात्मक सूचनाहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले हालको कठिन परिस्थितिमा पनि आपूर्ति व्यवस्थालाई सहज बनाइराख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नासाथ नेपालमा पनि सोहीअनुसार मूल्य समायोजन गरिने जानकारी दिँदै निगमले उपभोक्ताहरूलाई यथार्थ परिस्थितिलाई बुझिदिन आग्रह गरेको छ। भारी नोक्सानीका बाबजुद पनि उपभोक्ताको हित र आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको भन्दै निगमले आम उपभोक्ताबाट प्राप्त सहयोगका लागि धन्यवाद समेत ज्ञापन गरेको छ।


