काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएशनद्वारा युवा नेतृत्व विकासका लागी आयोजित युथ लिडरसिप प्रोग्राम २०२६ को पहिलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
इन्जिनियरिङ, अटोमोबाइल, एकेडेमिया, साहसिक पर्यटन तथा मोटरसाइकलिङ्ग स्पोट्र्स क्षेत्रमा संलग्न ६८ जना युवाहरूको सहभागिता रहेको उक्त कार्यक्रम नेपाली मोटरस्पोट्र्स तथा सुरक्षित मोविलिटीको क्षेत्रमा भावी नेतृत्व विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले मोटरस्पोट्र्स नेपाली युवाहरूको खास खेलका रूपमा विकसित हुँदै गइरहेको उल्लेख गर्दै यस्ता नेतृत्व विकास कार्यक्रमहरूले युवालाई सक्षम बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
अर्न्तराष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआइए) सँगको सहकार्यमा आयोजना गरिएको यस कार्यक्रम अन्तर्गत डिसेम्बरसम्म संचालन हुने १२ वटा सत्रहरू (फिजिकल, भर्चुअल र प्राक्टिकल) मार्फत सहभागीहरूलाई विभिन्न पाँच प्रमुख विषयमा तालिम प्रदान गरिनेछ । जसमा मोटरस्पोट्र्स व्यवस्थापन, रोड सेफ्टी, मिडिया तथा कम्युनिकेशन, खेल नवप्रवर्तन तथा एफआइए लिगेसी, टुह्विल तथा एड्भेञ्चर टुरिजम समावेश गरिएका छन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ वक्ताहरूले आफ्ना प्रस्तुति दिएका थिए । स्याकर ट्रेडिङ कम्पनीका अध्यक्ष तथा नाइमा नेपालका बोर्ड मेम्बर सौरभ ज्योतिले मोटरस्पोट्र्स, रोड सेफ्टी र कर्पोरेट क्षेत्रबीचको सम्बन्धबारे प्रकाश पारे ।
खेल विज्ञ सुलोचना सिजाख्वाले दीर्घकालीन राइडररखेलाडी विकास चक्रबारे प्रस्तुति दिइन् । त्यसैगरी साउथ एशिया एन्टि डोपिङ एजेन्सिका डा. ज्ञानेन्द्र शाहले मोटरसाइकल सुरक्षा तथा एन्टि डोपिङ, कर्पोरेट ट्रेनर सुरेश आचार्यले लिडरशिप, क्रियटीभिटि र टिमवोर्क तथा कान्तिपुर भ्याली कलेजका प्रिन्सिपल डा. अभिषेक श्रेष्ठले भविष्यका कार्यक्रम र मेन्टोरशिपको महत्वबारे प्रस्तुति दिए ।
कार्यक्रमका क्रममा अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआइएम), अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआइए), अन्तर्राष्ट्रिय पावरबोटिङ्ग युनियन (युआइएम), र ग्लोबल एलायन्स अफ एनजिओ फर रोड सेफ्टी लगायत अन्तर्राष्ट्रिय संस्थाका महत्वपूर्ण दस्तावेजहरू समेत सहभागीहरूबिचमा सेयर गरिएको थियो ।

