पोखरामा निःशुल्क विद्युतीय बस सेवा सुरू

काठमाडौं । पोखरा महानगरपालिकाले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निःशुलक बस सेवा सुरू गर्दैछ । महानगरले विमानस्थल आउजाउ गर्ने यात्रुको सुविधाका लागि उक्त बस संचालनमा ल्याउने भएको हो ।

पृथ्वी राजमार्गबाट करिब २ किलोमिटर भित्र रहेको विमानस्थल आउजाउ गर्न सार्वजनिक यातायात नपाइने र ट्याक्सी सेवा महँगो हुँदा यात्रु समस्यामा पर्दै आएका छन् ।

महानगरको विद्युतीय सटल बस विमानस्थलबाट पोखराको अमरसिंह चोकसम्म संचालन हुनेछ । महानगरका अनुसार आगामी असारसम्म यो बस सेवा निःशुल्क हुनेछ । यात्रुले कुनै पनि भाडा तिर्नुपर्दैन ।

हाल दुइटा विद्युतीय बसले बिहान ६ बजेदेखि राति १० बजेसम्म निरन्तर सेवा दिने व्यवस्था महानगरले मिलाएको छ ।

महानगरले किनेका दुई विद्युतीय बसको मूल्य २ करोड ६० लाख रुपैयाँ रहेको छ । महानगरले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमार्फत सटल बस संचालन गर्ने घोषणा गरेको थियो ।


Back_to_top