काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य मूल्यमा भारी वृद्धि गरेको छ । निगमले बिहीबार बिहानदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य समान प्रतिलिटर ३० रुपैयाँले बढाएको हो ।
त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।
मूल्य समायोजनसँगै डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर २३४.५० रुपैयाँ, दोस्रो वर्गमा २३६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर २३७ रुपैयाँ कायम भएको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।
अमेरिका–इजरायल–इरान बीचको युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढिरहेको छ । पछिल्लो समयको मूल्य वृद्धिलाई प्रक्षेपण गर्दा १५ दिनमै ५ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने देखिएपछि मूल्य बढाउनु परेको निगमले जनाएको छ ।



