काठमाडौं । ओखलढुङ्गा जिल्लामा पर्ने विप्लाटे-विगटार-विल्डु-सेल्पी-श्रीचउर-चम्पादेवी (ककनी)-कोशदह ६४.९१५ किलोमिटर सडक स्तरोन्नति गरी दुई लेनको बनाइने भएको छ ।
कुल ७ अर्ब ६६ करोड ६६ लाख ५० हजार ४३९.१४ रुपैयाँ लागत (अनुमानित)मा उक्त सडक दुई लेनको बनाउन लागिएको हो ।
वन तथा वातावरण मन्त्रालयले उक्त सडकको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन सार्वजनिक गर्दै सरोकारवालासँग राय सुझाव मागेको छ ।
ईआइए प्रतिवेदन अनुसार कुल ६४.९१५ किमी लामो यो सडकखण्डको २५.८५५ किमी हाल भएकै सडक स्तरोन्नति गरिने छ । बाँकी ३९.०६ किलोमिटर नयाँ सडक निर्माण गर्न लागिएको हो । यो सडकको प्रतिकिलोमिटर लागत करिब ११ करोड ९१ लाख रुपैयाँ रहेको छ ।
सिद्धिचरण नगरपालिका-७ स्थित विप्लाटेबाट सुरू हुने यो सडक मोलुङ गाउँपालिका, सुनकोशी गाउँपालिका हुँदै चम्पादेवी गाउँपालिका-४ को कोशी भञ्ज्याङसम्म पुग्नेछ ।
याे सडक ८.५ मिटर फराकिलो हुनेछ । जसमा ७ मिटर क्यारिएज वे र दुवैतर्फ ०.७५/०.७५ मिटर शोल्डर रहनेछ । यो सडकमा २५ सेमि सबबेस, २० सेमि बेस र ४ सेमि बाक्लो कालोपत्र गरिने छ ।
आयोजना अन्तर्गत २ वटा पुल, १६८ वटा पाइप कलभर्ट र १० वटा स्ल्याब कलभर्ट निर्माण गरिनेछन्। । सडक बनाउन ३ वर्ष लाग्ने अनुमान छ ।
सडक स्तरोन्नति तथा निर्माणका लागि करिब १५.६३ हेक्टर वन क्षेत्र प्रयोग गर्नुपर्ने देखिएका छ । जसमा ८७७ रुख काट्नुपर्नेछ । कटान हुने प्रत्येक रुखको सट्टा १० वटा बिरुवा रोप्नुपर्नेछ । त्यस्तै, आयोजनाका लागि २८.६६ हेक्टर निजी कृषि जमिन र ११.५७ हेक्टर बस्ती क्षेत्र अधिग्रहण गर्नुपर्नेछ।
सडक निर्माणका क्रममा ढुङ्गा, माटो उत्खनन गर्दा पहिरो जाने जोखिम, भू-क्षय र धुलो तथा ध्वनि प्रदूषण बढ्ने देखिन्छ। १८० स्थानमा पानीको प्राकृतिक बहावमा असर पर्न सक्ने पहिचान गरिएको छ।
सडक निर्माणपछि यातायात सुविधा विस्तार भई आर्थिक गतिविधि, व्यापार, पर्यटन तथा समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

