काठमाडौं । केटीएम इन्डियाले ड्युक र एड्भेन्चर मोटरसाइकललाई ३५० सीसी इन्जिनमा सार्वजनिक गरेको छ ।
कम्पनीले भारतीय बजारमा आफ्नो लोकप्रिय मोडल केटीएम ड्युक ३९० र एड्भेन्चर ३९० मोडललाई ३५० सीसी इन्जिन सेग्मेन्टमा बिक्री सुरू गरेको हो ।
भारत सरकारले ३५० सीसी माथिका मोटरसाइकलको करको दर बढाएर ४० प्रतिशत पुर्याएसँगै कम्पनीले ३९० सीसीका मोटरसाइकलको इन्जिन पावर घटाएर ३५० सीसीमा ल्याएको हो । ३५० सीसीसम्मका मोटरसाइकलको जीएसटी भने १८ प्रतिशत मात्रै छ ।
कम्पनीले ३५० सीसी नयाँ इन्जिनमा आएको ड्युकको मूल्य २ लाख ७७ हजार २६८ भारु र एड्भेन्चरको २ लाख ८० हजार ९०५ भारु (एक्स–शोरूम) तोकेको छ । यो ३९० मोडलको भन्दा धेरै कम मूल्य हो ।

नयाँ केटीएम ड्युक र एड्भेन्चरमा ३४९ सीसीको सिंगल सिलिण्डर इन्जिन छ । यो इन्जिनले अधिकतम ४१.५ पीएस पावर र ३३.५ एनएम टर्क जेनेरेट गर्छ ।
इन्जिन साइज परिवर्तन भए पनि केटीएमले यसको मुख्य परफर्मेन्स र राइडिङ अनुभवलाई यथावत राखेको छ । दुवै मोडलमा इन्जिनका अलावा अन्य कुनै कम्पोनेन्टहरू फरक देखिँदैन। फिचरहरू समेत ३९० मोडलमा भएकै यथावत राखिएको छ ।
कम्पनीले हाल भारतमा बजाज, ट्रायम्फ र केटीएम ब्राण्डका मोटरसाइकल उत्पादन गर्दै आइरहेको छ । कम्पनीले यसअघि ४०० सीसीमा उत्पादन गर्दै आएका अधिकांश मोटरसाइकल करका कारण ३५० सीसीमा झारिरहेको छ ।

कम्पनीले ग्राहकलाई सस्तो मूल्यमा मोटरसाइकल उपलब्ध गराउने यस्तो रणनीति अपनाएको हो । सबै मोटरसाइकलमा इन्जिन बाहेक अन्य डिजाइन र सम्पूर्ण फिचरहरू भने समान नै पाउन सकिन्छ ।

