काठमाडौं । काठमाडौं महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन संचालन सेवा प्रदान गर्न बुधबारसम्मको समय सीमा दिएको छ ।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
महानगरले गत चैत २५ गते सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दुरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रुपमा संचालन गर्न अनुरोध गरिएको थियो । केही यातायात व्यवसायीले उक्त सूचनाको वेवास्ता गरेपछि महानगरले अन्तिम पटक ३ ३ दिन भित्र महानगरको एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको हो ।
नुवाकोटतर्फ यातायात संचालन गर्ने कम्पनीहरू सम्पर्कमा आएको बताउँदै धादिङतर्फ यातायात संचालन गर्ने कम्पनीहरूले सूचनाको अवज्ञा गरेको जानकारी दिइएको थियो ।
कार्यवाहक प्रमुख डंगोलले, महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँग समन्वय गरेर अनुगमन नियमन कार्यका लागि संयुक्त टोली बनाएर एकीकृत काम गर्ने प्रणाली तयार गर्न निर्देशन दिइन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले, सडक संकेत र सडक अनुशासन पालना गराउन महानगरपालिका र ट्राफिक प्रहरीका बिचमा समन्वयात्मक कार्यक्रमलाई बढाउनुपर्ने बताए ।
सार्वजनिक सवारी साधनको पार्किङ, टिकट काउण्टर संचालन, यात्रु चढाउने र ओराल्ने क्रियाकलाप, सार्वजनिक यातायात संचालन तथा व्यवस्थापनका विषयमा बैठक केन्द्रीत थियो ।
प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहका अनुसार काठमाडौंबाट दैनिक औसतमा ७०० वटा सार्वजनिक यातायातका साधन बाहिरिन्छन् । तीमध्ये करिब ३५० वटा बसपार्क बाहिरै पार्किङ गर्ने, यात्रु चढाउने तथा ओराल्ने गर्छन् । काठमाडौंमा सवारी साधन व्यवस्थापनका चुनौतीमध्ये यो प्रमुख समस्या बनेको, शाहको भनाइ छ ।
ल्होत्से वहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार नयाँ बसपार्क भित्रबाट अहिले ५७ वटा कम्पनीका सवारी साधन संचालन हुन्छन् ।
लामो दुरीको एउटा सवारी साधन ९ घण्टा पार्किङ गरेको ४५० रुपैयाँ शुल्क लिने गरिएको छ । मध्यम तथा छोटो दुरीका माइक्रो बसको २२० रुपैयाँ लिने गरिएको मल्लको भनाइ छ । बसपार्कबाट औसतमा दैनिक यस ठाउँबाट ३४० वटा गाडी आउने जाने गर्छन् । पोखरा, नुवाकोट, वुटबल, स्याङ्जा, दाङ् लगायत जिल्लामा माइक्रोबस सेवा संचालन हुन्छ ।
नयाँ बसपार्क क्षेत्र १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा ७५० वटा सवारी साधन व्यवस्थापन गर्न सकिन्छ ।

