५० लाखभन्दा सस्ता इलेक्ट्रीक एसयूभी खोज्ने बढ्दै, धेरै आयात भएका ३ मोडल

काठमाडौं । नयाँ वर्ष २०८३ सुरू भइसकेको छ । नयाँ वर्ष लागेसँगै अघिल्लो वर्ष कुन मोडलले कस्तो व्यापार गर्याे भन्ने चासो स्वभाविक हुन्छ ।

नेपालमा विद्युतीय एसयूभीको क्रेज तीव्र गतिमा बढ्दै गएको छ । उपभोक्ताको रोजाइमा ४० लाखदेखि ५० लाख रुपैयाँ मूल्यमा किन्न पाइने कम्प्याक्ट एसयूभी पर्दै गएको बिक्री तथ्यांकले देखाउँछ ।

मूल्यका हिसाबले ५० लाखभन्दा कममा पाइने एसयूभी बजारमा थुप्रै छन् । त्यसमा पनि चल्तीका एसयूभीको नाम लिनु पर्दा सबैभन्दा अगाडि बीवाइडी एटो टु आउँछ । त्यसपछि एमजी एस फाइभ पनि धेरै आयात र बिक्री भएको मोडल हो ।

यी दुई मोडलका अलावा कम मूल्यका एसयूभी खोज्नेलाई उत्कृष्ट विकल्प दिँदै आएको अर्को मोडल टाटा पन्च हो । यसको ४० लाख रुपैयाँ पर्ने पन्च ईभी निकै राम्रो संख्यामा बिक्री हुँदै आउको छ ।

डोङफेङ नामी भिगो मोडल पनि धेरैको रोजाइमा पर्दै आएको छ । त्यसका अलावा टाटा नेक्सन केथ्री एसयूभी पनि ५० लाखभन्दा कम मूल्यमा किन्न पाइन्छ । यसले पनि बजारमा राम्रै व्यापार गर्दै आएको छ ।

माथि उल्लेख गरिएका मोडल मध्ये टप थ्री मोडलको बारेमा हामीले यहाँ चर्चा गरेका छौं । जुन २०८२ बैशाख १ गतेदेखि २०८२ चैत मसान्तसम्मको आयातमा आधारित छ ।

बीवाइडी एटो टु

नेपाली बजारमा निकै ढिलोगरी प्रवेश गरेको बीवाइडी एटो टु अहिले पनि हटकेक मोडल हो । २०० एमएमको उच्च ग्राउण्ड क्लियरेन्स, एटो थ्री एड्भान्सको भन्दा ठूलो ५१ किलोवाट आवरको ब्लेड ब्याट्री र एटो थ्रीकै समान १०० किलोवाटको मोटरका कारण एटो टुले बजारमा अलगै पहिचान बनायो ।

अहिले पनि धेरै मानिस एटो टु बुकिङ गरेर पालो कुरेर बसेका छन् । परम्परागत एसयूभी डिजाइन, ५ जनाले आरामदायी यात्रा गर्न मिल्ने सिट, टेक फिचर र बीवाइडीको ब्राण्ड नेमको कारण भदौमा नेपाल आएको गाडीले १० महिनाममै १ हजार ३२४ युनिट आयात पूरा गरेको हो । एउटा मात्रै भेरियन्टमा उपलब्ध बीवाइडी एटो टुको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ छ ।

एमजी एस फइभ

मोसिर ग्यारेज (एमजी)को निकै सफल मोडल एस फाइभ प्रतिस्पर्धी मूल्य, आकर्षक डिजाइन, रियर ह्वील ड्राइभ सिस्टम र पछाडि इनडिपेन्डेन्ट सस्पेन्सन भएको ५० लाखभन्दा कम मूल्यको एसयूभी हो । आफ्नो यिनै क्षमताको कारण नेपाल आएको पहिलो एक वर्षमा १ हजार ५२ युनिट एस फाइभ नेपाल आयो ।

ईभीमा बलियो ब्राण्ड बन्दै गएको एमजी पछिल्ला दिनमा सर्भिसमा पनि निकै केन्द्रित देखिन्छ । कम्पनीको एस फाइभमा ४९.१ किलोवाट आवरको संसारकै पातलो ब्याट्री प्रयोग भएको छ । हिटेड र भ्यान्टिलेटेड सिट, हिटेड स्टेरिङ जस्ता फिचरको कारण एस फाइभले राम्रो बिक्री पाएको हो । यसको स्टायण्डर्ड रेन्ज टप भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ छ ।

टाटा पन्च ईभी

टाटाले नेपालमा बिक्री सुरू गरेकै मितिदेखि पन्च ईभीले सफलता पाएको हो । अन्य ईभीको तुलनामा सानो साइजको पन्च टेक्नोलोजीका हिसावले अब्बल मोडल मान्न सकिन्छ ।

एक्टी डट ईभी प्लेटफर्ममा तयार भएको पन्च ईभी आकर्षक फिचर, राम्रो रेन्ज, आरामदायी सिट, स्मार्ट स्टेयरिङ ह्वील जस्ता कारण धेरैको रोजाइमा पर्छ ।

अझ कम मूल्यको ईभीमा उपलब्ध सनरुफ यसको अर्को बलियो पक्ष हो । एक वर्षको दौरानमा ५७० युनिट पन्च ईभी नेपाल आएको छ । यसको टप भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ छ ।


Back_to_top