काठमाडौं । पेट्रोलियम पद्धार्थको मूल्य आकाशिएसँगै नेपाली बजारमा इलेक्ट्रीक स्कुटरको माग ह्वात्तै बढेको छ । चारपाँग्रे ईभीको बिक्रीले रफ्तार लिइरहँदा सुस्त नै थियो । तर, पछिल्लो डेढ महिनामै पेट्रोलको भाउ लिटरमै ६० रुपैयाँ बढेर २१७ रुपैयाँ पुगिपछि उपभोक्ता इलेक्ट्रीक स्कुटरतर्फ आकर्षित हुन थालेका छन् ।
अहिले एथर, चेतक, टेलजी, याडिया लगायत मुख्य चल्तीका ब्राण्डका इलेक्ट्रीक स्कुटरको माग उच्च छ । शोरुमहरूमा ग्राहकको घुइँचो लाग्न थालेको छ । केही ब्राण्डका इलेक्ट्रीक स्कुटर सोल्ड आउट भइसकेका छन् । डेलिभरी पाउन १ महिनासम्म कुनुपर्ने अवस्था छ ।
हाल नेपाली बजारमा चीन र भारतमा उत्पादन भएका ३ दर्जन बढी ब्राण्डका इलेक्ट्रीक स्कुटर उपलब्ध छन् । धेरै अप्सन हुँदा ग्राहकमा कुन ब्राण्डको स्कुटर किन्ने भन्ने अन्योलता हुन सक्छ । जुनसुकै ब्राण्डका स्कुटर किन्दा पछि पछुताउनुपर्ने अवस्था आउन सक्छ । त्यसैलाई मध्येनजर गर्दै यहाँ हामीले इलेक्ट्रीक स्कुटर किन्दा ख्याल गर्नै पर्ने मुख्य कुरा बारे चर्चा गरेका छौं ।
१. मोटर र ब्याट्री : इलेक्ट्रीक स्कुटर खरिद गर्दा सबैभन्दा ध्यान दिनुपर्ने कुरा हो, मोटर र ब्याट्री क्षमता । हाल बजारमा १ किलोवाटदेखि ५ किलोवाट माथिसम्मका मोटर भएका स्कुटर उपलब्ध छन् । जति मोटर पावर धेरै हुन्छ, स्कुटर उति नै शक्तिशाली हुन्छ । तर, ठूलो पावरको मोटर भएको स्कुटरको मूल्य महँगो हुनछ । त्यसैले तपाईंले आफ्नो आवश्यकता र दैनिक हिँड्ने सडकको अवस्था ख्याल गरेर मोटर क्षमता छनोट गर्नुपर्छ । काठमाडौं र तराई क्षेत्रमा चलाउने हो भने कम्तीमा २.५ किलोवाट माथिको स्कुटर किन्दा उपयुक्त हुन्छ । हिमाली र पहाडी क्षेत्रका लागि सोभन्दा धेरै क्षमताको किन्नु राम्रो हुन्छ ।
त्यस्तै, अर्को ध्यान दिनु पर्ने पक्ष ब्याट्रीमा हो । पूरा स्कुटरको मूल्यको आधा मूल्य ब्याट्रीलाई नै पर्ने हुन्छ । यसका साथै ब्याट्रीको क्षमता अनुसार स्कुटरले रेन्ज दिन्छ । इलेक्ट्रीक स्कुटर खासगरी सहरी क्षेत्रमा प्रयोग हुने भएका कारण १०० किलोमिटर रेन्ज राम्रो मानिन्छ । त्यसैले स्कुटर किन्नुअघि आफ्नो दैनिक यात्रा हिसाब गर्नुपर्छ । ब्याट्री हेर्दा यसको भोल्ट र एम्पीयरमा ध्यान दिनु पर्ने हुन्छ । ब्याट्रीको चार्जिङ लाइफ, ब्याट्री टेक्नोलोजी, ब्याट्री निकालेर चार्ज गर्न मिल्छ वा मिल्दैन जस्ता विषय बुझ्नु पर्छ ।
२. सर्भिस सेन्टर : बिक्रेताले आफ्नो स्कुटर बेच्न आकर्षक स्कीम समेत ल्याउँछन् । तर, हामीले स्कीमभन्दा पनि भोलि स्कुटरमा समस्या आउँदा समयमै सर्भिस दिन सक्छ/सक्दैन भन्ने ख्याल गर्नुपर्छ । उसको सर्भिस सुविधा र योजना के छन् बुझ्नुपर्छ । कुनै ब्राण्डको शोरुम वा गोदम मात्रै छ भने उसले सर्भिस नदिन पछि सक्छ । त्यसैले आधिकारिक सर्भिस सेन्टर भएका ब्राण्डका स्कुटर किन्दा पछि दुःख पाउनु पर्दैन ।
३. स्पेयर पार्टको उपलब्धता : नेपालमा इलेक्ट्रीक स्कुटर किन्नेको धेरैको गुनासो हुन्छ, स्पेयर पार्टस नै पाइँदैन । स्कुटर राम्रो भएर मात्रै हुँदैन । भोलि स्कुटर बिग्रिएको अवस्थामा सहजै पार्ट, पूर्जा किन्न पाइने सुनिश्चित हुनुपर्छ । बिक्रेताले आफ्नो ब्राण्डको सर्भिस र स्पेयरका लागि छुट्टै व्यवस्था गरेको छ भने तपाईंले ढुक्कले किन्नुहोस् । यदि सहजै स्पेयर पार्टस् किन्न पाइँदैन भने त्यस्ता ब्राण्ड नकिन्नुहोस् । नत्र भोलि महँगोमा अन्य ब्राण्डका पार्टस् किन्नुपर्ने बाध्यता हुन्छ ।
४. ब्राण्ड र बिक्रेताको हिस्ट्री : बजारमा ब्राण्ड नेमले धेरै महत्व राख्दछ । स्थापित ब्राण्डले आफ्नो सबै इको सिस्टम बनाएका हुन्छ । उपभोक्ताको ख्याल गर्छन् । त्यसैले स्कुटर किन्दा ब्राण्डको बारेमा राम्रोसँग बुझ्नुहोस् । साथै, नेपालमा जसले पनि इलेक्ट्रीक स्कुटर ल्याएर बेच्न सक्ने अवस्था छ । कुनै निश्चित मापदण्ड वा क्राइटएरिया तोकिएको छैन । बिक्रेता कस्तो हो, उसको व्यवसायिक लिगेसी कस्तो छ बुझ्नुहोस् ।
५. मूल्य : बजारमा विद्युतीय स्कुटरको मूल्यमा आवश्यकताभन्दा धेरै मार्जिन राखेर बिक्री हुँदै आएको देखिन्छ । यस्तोमा मोटर, ब्याट्री र फिचरका आधारमा प्रतिस्पर्धी स्कुटरहरूको मूल्य कति छ तुलना गरेर हेर्नुपर्छ । साथै, त्यही प्रोडक्ट अन्य बजारमा कति मूल्यमा बिक्री भइरहेका छन् बुझ्न जरुरी हुन्छ ।
६. भावी योजना : बिक्रेताले भोलिका दिनमा उक्त ब्राण्डलाई कसरी अगाडि बढाउने योजना बनाएको छ, त्यो थाहा पाउनु फाइदाजनक हुन्छ । चार्जिङ पूर्वाधार निर्माणको अवस्था र भावी योजना समेत बझ्नुहोस् । उसको भावी योजनाले तपाईंले बिक्रीपछि पाउने सेवाको समेत सुनिश्चिता गर्दछ ।
७. टेस्ट ड्राइभ गर्नुहोस् : तपाईंले आफूले मन पराएको स्कुटर किन्नु अघि एकपटक टेस्ट ड्राइभ गर्नुहोस् । बिक्रेताले भने अनुसार र तपाईंको अपेक्षा अनुसार पर्फमेन्स छ/छैन । आफैं चलाएर अनुभव गर्नुहोस् । सडकमा गुडाएर हेर्दा चित्त बुझे मात्र किन्नुहोस् ।

