काठमाडौं । सन् २०२६ को साढे तीन महिना (जनवरी-अप्रिल १५)सम्म कुल ३ हजार २१२ युनिट प्यासेन्जर कार नेपाल भित्रिएका छन् ।
भन्सार तथ्यांक अनुसार जनवरीमा ९३७, फेब्रुअरीमा ७७१, मार्चमा ११२९ र अप्रिलको १५ दिनमा ३७४ युनिट आयात भएको हो ।
यस अवधिमा २ दर्जन बढी ब्राण्डका ६२ मोडलका कार आयात भएको छ । जसमा ३३ मोडल ईभी, २५ मोडल पेट्रोल र ४ मोडल हाइब्रिड कार रहेका छन् ।
सन् २०२६ मा ५ दर्जन बढी मोडलका कार आयात भए पनि जम्मा १३ मोडल मात्रै १०० युनिट बढीको संख्यामा आयात भएको छ । त्यस्तै, आधादर्जन बढी मोडल ५० देखि १०० युनिटको बीचमा आयात भएका छन् । अन्य मोडलको आयात भने न्यून संख्यामा छ ।
१०० युनिटको आँकडा पूरा गर्नेमा टाटाका ३, बीवाइडीका २, डोङफेङ २, हुन्डाई, किया, मारुती सुजुकी, महिन्द्रा, चेरी र दीपलका १र१ मोडल रहेका छन् । तीमध्ये ५ मोडल २०० युनिट माथि आयात भएका छन् ।
१०० युनिटको आकडा पार गर्ने १३ मोडलमध्ये १० वटा ईभी मोडल रहेका छन् । दुई वटा पेट्रोल र एउटा हाइब्रिड रहेको छ ।
यी हुन् १०० युनिटको आँकडा पार गर्ने मोडलहरू
सन् २०२६ मा सबैभन्दा धेरै टियागो ईभी आयात भएको छ । सिप्रदी ट्रेडिङले ट्याक्सीको रूपमा प्रयोग हुने टिगोर ईभी ३६५ युनिट नेपाल ल्याएको छ । त्यस्तै, सिप्रदीले पन्च ईभी २५१ युनिट र टियागो ईभी २०१ युनिट ल्याएको छ ।
त्यस्तै, साइमेक्स इंकले बीवाइडीका दुई मोडल १०० युनिट माथि ल्याएको छ । साइमेक्सले बीवाइडीको प्रिमियम एसयूभी सिलायन सेभेन १०६ युनिट र एटोे टो एसयूभी २५२ युनिट आयात गरेको छ ।
त्यस्तै, एमएडब्लू वृद्धिले डोङफेङ भिगो १९५ युनिट, डोङफेङ नामी १२५ युनिट र दीपल एस ०५ १३२ युनिट ल्याएको छ ।
अहिले नेपाली बजारमा हटकेक बनेको चेरीको आइकार भी २३ २०२ युनिट आयात भएको छ । एसपीजी अटोमोबाइल्सले साढे ३ महिनामा उक्त संख्यामा आइकार भी २३ ल्याएको हो ।
पेट्रोलतर्फ लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई क्रेटा (सीकेडी) १७०, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले किया सोनट १६० युनिट ल्याएको छ । सीजी मोटोकर्पले सुजुकी ब्रेजा हाइब्रिड १०२ युनिट ल्याएको छ ।
अग्नि इनकर्पोरेटेडले महिन्द्रा बीई सिक्स १२४ युनिट यी बाहेक अन्य कुनै पनि मोडलले १०० को आँकडा पार गर्न सकेका छैनन् ।

