घट्यो पेट्रोल र डिजेलको भाउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य समायाेजन गरेको छ ।

निगमले शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टीतेलको प्रतिलिटर १२ रुपैयाँले घटाएको हो ।

मूल्य समायोजनसँगै पेट्रोलको भाउ पहिलो वर्गका लागि प्रतिलिटर २१४.५० रुपैयाँ, दोस्रो वर्गमा २१६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर २२२.५० रुपैयाँ, दोस्रो वर्गमा २२४ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर २२५ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ४६ अमेरिकी डलर बढाएको छ ।

नियमले खाना पकाउने एपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर १५० रुपैयाँ बढाएर २१६० रुपैयाँ पुर्याएको छ ।

मूल्य समायोजनपछि निगमलाई आगामी १५ दिनमा १ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरेको छ ।


Back_to_top