यस्तो देखियो फेसलिफ्ट केई इक्युट-०४, छिट्टै नेपाल आउने

काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्ड केईले आफ्नो लोकप्रिय ह्याचब्याक इक्युट-०४ फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ ।

कम्पनीले जारी बेइजिङ अटो शोमा नयाँ इक्युट-०४ सार्वजनिक गरेको हो । कम्पनीले इक्युट-०४ लाई अझ आकर्षक डिजाइन, थप फिचर र रेन्ज बढाएर ल्याएको हो ।

नयाँ फेसलिफ्ट संस्करणमा बाहिरी डिजाइनमा सूक्ष्म तर प्रभावकारी परिवर्तन गरिएको छ । फ्रन्ट प्रोफाइललाई अझ सफा र आधुनिक बनाइएको छ । एलईडी लाइटिङ, स्मूथ बडी लाइन र फ्लस डोर ह्याण्डल जस्ता फिचरले गाडीलाई प्रिमियम टच दिएको छ ।

कम्पनीले फेसलिफ्ट मोडलमा साइजमा कुनै परिवर्तन गरेको छैन । यसको लम्बाइ ३७२० एमएम, चौडाइ १७०० एमएम र उचाइ १६०८ एमएम छ ।यसमा २५२० एमएम लामो ह्वीलबेस छ ।

कम्पनीले नयाँ इक्युट-०४ को रेन्जमा सुधार गरेको छ । यसमा पहिलाकै जस्तै २८.५ किलोवाट आवर र ३९.८ किलोवाट आवरको दुई ब्याट्री विकल्प उपलब्ध छन् । यी ब्याट्रीले क्रमश? ३०० किलोमिटर र ४०० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।

इक्युट ०४ लाई फास्ट चार्जरमार्फत करिब ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

इक्युट ०४ मा ४० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर प्रयोग गरिएको छ । जसले ११० न्यूटन मिटर टर्क उत्पादन गर्छ । सहर केन्द्रीत मोडल भएको यसको टप स्पीड क्षमता करिब १०० किमी प्रतिघण्टा मात्रै रहेको छ ।

फेसलिफ्ट संस्करणमा इन्टेरियर र टेक्नोलोजीमा पनि सुधार गरिएको छ । ठूलो टचस्क्रीन इन्फोटेनमेन्ट, स्मार्ट कनेक्टिभिटी, भ्वाइस कन्ट्रोल र ३६० डिग्री क्यामेराजस्ता फिचरहरू समावेश गरिएको छ।

सुरक्षातर्फ, डुअल एयरब्याग, एबीएस, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल असिस्ट र आइएसओ फिक्स चाइल्ड सीट एंकर जस्ता फिचरहरू उपलब्ध छन्।

यो पाँच सिटे इलेक्ट्रीक ह्याचब्याक सानो आकार भए पनि पारिवारिक प्रयोगका लागि उपयुक्त विकल्पको रूपमा प्रस्तुत गरिएको छ । सस्तो मूल्यमा बढी रेन्ज र आधुनिक फिचरले ग्राइकको ध्यान तान्ने देखिन्छ ।

नेपाली बजारमा इक्युटले उपभोक्ता तानिरहेको छ । हाल मिनी कार भनेकै इक्युट जस्तो देखिन्छ । अर्थात् आयात हुने कुल मिनीकारमा इक्युटको हिस्सा ६५ प्रतिशत छ ।

नेपालमा लक्ष्मी ई मोबिलिटी र जीओ अटोमोबाइल्सले इक्युट ०२ र ०४ बिक्री गर्दै आएका छन् । चीनमा सार्वजनिक भएसँगै फेसलिफ्ट इक्युट ०४ मोडल चाँडै नेपाल आउने कम्पनीले जनाएका छन् ।


Back_to_top