लाइडारसहित आयो नयाँ एटो वान, रेन्ज निकै बढ्यो

काठमाडौं । बीवाइडीले आफ्नो इन्ट्री लेभल ह्याचब्याक एटो वान (सिगल)को अपडेटेड भर्सन ल्याएको छ । कम्पनीले जारी २०२६ बेइजिङ अटो शोमा लाइडार सेन्सर भएको एटो वान सार्वजनिक गरेको हो ।

कम्पनीले नयाँ एटो वान पहिलोपटक लाइडार सेन्सर राखेर ल्याएको छ । यो प्रविधि बीवाइडीले आफ्नो महँगा ब्राण्ड डेन्जा र याङवाङमा प्रयोग गर्दै आएको थियो ।

यद्यपि, लाइडार एटो वानको सबै भेरियन्टमा उपलब्ध छैन । यो अप्सनल छ । लाइडारयुक्त भेरियन्टमा बीवाइडीको ‘गडस् आई बी’ नामक चालक सहायता प्रणाली हुनेछ । यो प्रणाली एनभिडिया ड्राइभ ओरिन चिपद्वारा चल्छ । जसको कम्प्युटिङ क्षमता २५४ टीओपीएस छ ।

नयाँ एटो वानको सबैभन्दा महत्त्वपूर्ण सुधार भनेको यसको रेन्ज हो । नयाँ एटो वानले एकपटकको फुलचार्जमा ५०५ किमी रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । पुरानो एटो वानको अधिकतम रेन्ज ४०५ किमी थियो ।

कम्पनीले एटो वानको मोटर क्षमता समेत ५५ किलोवाटबाट बढाएर ६० किलोबाट पुर्याएको छ । यी मुख्य परिवर्तन बाहेक कम्पनीले एटो धेरै साना सुधार गरेको छ । यद्यपि, एटो वानको साइज र डिजाइन भने पहिलाको जस्तै छ ।

कम्पनीले एटो वानमा नयाँ रातो रङको विकल्प उपलब्ध गरेको छ । त्यस्तै, नयाँ एटो वानमा १७५र५५ आर १६ टायर स्पेसिफिकेसनसहित नयाँ १६ इन्चको ह्वील, अगाडिको फेन्डरमा क्यामेराका कम्पोनेन्टहरू, पछाडि एउटा सानो नीलो बत्ती र डुअल वाइपर थपेको छ ।

बीवाइडीले नयाँ एटो वानको इन्टेरियरको डिजाइनलाई हालकै निरन्तरता दिए पनि धेरै सुधार गरेको छ । जसमा सरल बनाइएको स्टेयरिङ ह्वीलका बटनहरू, इन्टेलिजेन्ट ड्राइभिङ भेरियन्टका लागि स्मार्ट ड्राइभिङ प्याडलहरू, भित्री भागको रङसँग मिल्ने सेन्टर कन्सोलका बटनहरू, चिसो बनाउने भेन्टसहित अपग्रेड गरिएको ५० वाटको वायरलेस फास्ट चार्जिङ, एउटा मात्र कप होल्डरको व्यवस्था र फ्लिप टप आर्मरेस्ट बक्स राखेको छ ।

बीवाइडी एटो वान नेपाली बजारमा छोटो समयमै लोकप्रिय बनेको छ । साइमेक्स इंकले गत भदौमा नेपाली बजारमा भित्र्याएको थियो । नयाँ एटो वान नेपाली बजारमा पनि चाँडै आउने सहजै अनुमान लगाउन सकिन्छ ।


Back_to_top