आयो लीपमोटर ‘बी ०५अल्ट्रा’ पर्फमेन्स ह्याचब्याक, रेन्ज ६०० किमी

काठमाडौं । चिनियाँ स्टार्टअप लीपमोटरले आफ्नो नयाँ इलेक्ट्रीक पर्फर्मेन्स ह्याचब्याक ‘बी ०५ अल्ट्रा’ सार्वजनिक गरेको छ ।

कम्पनीले आजदेखि सुरू भएको बेइजिङ अटो शो २०२६ आफ्नो नयाँ इलेक्ट्रीक ह्याचब्याक सार्वजनिक गरेको हो । चीनमा ‘लाफा ५ अल्ट्रा’को नामबाट बिक्री सुरू भएको यो ह्याचब्याक अन्तर्राष्ट्रिय बजारमा बी ०५ नामबाट आउने छ ।

कम्पनीले बी ०५ अल्ट्राको सुरूआती मूल्य १८ हजार १३५ अमेरिकी डलर (करिब २७ लाख २० हजार रुपैयाँ) तोकेको छ । कम्पनीले सीमित अवधिका लागि छुटसहित १७ हजार ४०० डलरमा उपलब्ध गराउने जनाएको छ ।

कम्पनीले बी ०५ अल्ट्रा दुई ब्याट्री अप्सनमा ल्याएको छ । यसको इन्ट्री लेभल मोडलमा ५६.२ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । जसले एकपटकको फुलचार्जमा ५०० किलोमिटरको रेन्ज दिन्छ ।

त्यस्तै, टप भेरियन्टमा ६७.१ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक छ । जसले एकपटकको फुलचार्जमा ६०० किलोमिटर रेन्ज दिनेछ ।

लीपमोटर बी ०५ अल्ट्रामा पछाडिको एक्सलमा १८० किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले २५५ एनएमको टर्क प्रदान गर्दछ । यो ह्याचब्याकले ५.९ सेकेण्डमा १०० किमी प्रतिघण्टाको गति भेटाउन सक्छ । यसको टप स्पीड क्षमता १७० किमी प्रतिघण्टा छ ।

यसमा स्पोर्टी साइड स्कर्ट, फ्रन्ट बम्परमा ठूला एयर इन्टेक, र स्पोर्टी रुफ स्पोइलर छ । बी ०५ अल्ट्रामा १९ इन्चको ह्वील र खैरो रङको ब्रेक क्यालीपरहरू छन् । सबै ब्याजहरू पनि खैरो रङमा छन् ।

यसको लम्बाइ ४४९० एमएम, चौडाइ १८८० एमएम र उचाइ १५१० एमएम छ । यसमा कडा सस्पेन्सन र एक्सलहरू बीच ५०:५० को वजन वितरण पनि अपनाइएको छ।

बी ०५ अल्ट्राको इन्टेरियर कालो रङको छ । यसको क्याबिनको ४.४८ वर्ग मिटर क्षेत्र फक्स स्वेड लेदरले ढाकिएको छ। यसमा ८ पोइन्ट मसाज, भेन्टिलेसन फङ्सनहरू सहितको स्पोर्टी फ्रन्ट सिटहरू समावेश छन् । यसको स्टेयरिङ ह्वील पनि हिटेड सुविधा सहित छ।

यसमा अटोमेटिक पार्किङ सुविधा सहितको लाइडारमा आधारित असिस्टेड ड्राइभिङ सिस्टम छ ।


Back_to_top