काठमाडौं । बीपी राजमार्ग अन्तर्गतको खुर्कोट-भकुन्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।
मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन, काभ्रे र सिन्धुलीका प्रमुख जिल्लाहरू बीचको छलफलपछि जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार सूचना जारी गर्दै दैनिक अर्को सूचना जारी नभएसम्मका लागि दैनिक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी संचालनमा रोक लगाइएको जानकारी गराएको हो ।
‘आज मिति २०८३ वैशाख २२ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बीपी राजमार्गको खुर्कोट-भकुण्डेबेँसी सडकखण्डमा बेलुकी ५ बजेबाट बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक लगाउने,’ काभ्रे जिल्ला प्रशासनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, उक्त अवधिपछि पनि वर्षा, रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अल्पकालीन अवधिका लागि रोक लगाउन सकिने प्रशासनले जनाएको छ ।
बीपी राजमार्गको कटुन्जेबेसी नेपालथोक सडकखण्डमा यात्रा गर्नुपूर्व सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध समेत गरेको छ ।



