गुरिल्ला ४५० को बुकिङ खुला, कति पर्ला मूल्य ?

काठमाडौं । रोयल इनफिल्डले नेपालमा गुरिल्ला ४५० मोटरसाइकलको बुकिङ खुला गरेको छ ।

नेपालका लागि रोयल इनफिल्डको आधिकारिक बितरक अल्फा अटोमोटिभले वैशाख २८ गतेदेखि बिक्री सुरु गर्ने तयारी थालेको नयाँ गुरिल्ला ४५० मोडलको बुकिङ खुलाएको हो ।

कम्पनीले आफ्नो शोसल मिडिया ह्यान्डलमा एक टिजर जारी गर्दै अर्को साताबाट नेपाली बजारमा उपलब्ध गराउन लागेको गुरिल्ला मोटरसाइकलको आधिकारिक रुपमा बुकिङ खुलाइएको जानकारी गराएको हो । मोटरसाइकल ६ कलर अप्सनमा छनोट गर्न सकिने छ । कम्पनीले यसको मूल्य भने खुलाएको छैन ।

भारतमा २०२४ बाट बिक्रीका लागि उपलब्ध रहेको गुरिल्ला मोटरसाइकल नेपालमा भने अब बिक्री सुरु हुन लागेको हो । गुरिल्ला हिमालयन ४५० इन्जिन प्लेटफर्ममा आधारित मोडल हो । यो भारतमा चर्चित पनि छ । त्यसैले कम्पनीले सोहि मोडल नेपालमा पनि उपलब्ध गराउने तयारी थालेको अनुमान गर्न सकिन्छ ।

रोयल इनफिल्डको हिमालयन ४५० मा भएको शेर्पा इन्जिन नै गुरिल्लामा प्रयोग भएको छ । तर यसको डिजाइन भने निकै फरक रोडस्टार सेग्मेन्टमा छ। गुरिल्लामा सर्कुलर एलइडी हेड्ल्याम्प, टेल ल्याम्प, आल्मुनियम ह्यान्डलबार, आकर्षक फ्युल ट्यांक, हिमालयनको जस्तै माथि उठेको एग्जस्ट र सिंगल सिट पाइन्छ ।

रेट्रोसँगै फरक रोडस्टार डिजाइनमा देखिने गुरिल्लामा हाइ रेजुलोसनको ट्रीपर ड्यास सर्कुलर टिएफटी इन्स्ट्रुमेन्ट कन्सोल, ब्लूटुथ कनेक्टिभिटी सिस्टम, टर्न वाई टर्न नेभिगेसन, अन्य विभिन्न राइडरलाई आवस्यक पर्ने अलर्ट, नाइट मोड डिस्प्ले, एलईडी लाइट सेटअप, डवल डिस्क ब्रेक, डवल च्यानल एबीएस, राइड मोड, स्वीचेवल एबीएस, स्लिपर एण्ड असिस्ट क्लच लगायतका फिचरहरु उपलब्ध छन् ।

त्यस्तै, यसमा १७ इन्चको ब्ल्याक अलोय ह्वील, ट्युवलेस टायर, कन्भेन्सनल टेलिस्कोपिक फ्रन्ट फर्क र अफसेट मोनोशक रियर सस्पेन्सन सेटअप पाउन सकिन्छ ।

गुरिल्ला ४५० मोटरसाइकलको लम्बाई २१३४ एमएम, चौडाई ८३४ एमएम, उचाई १११५ एमएम र ह्वीलबेस १४९१ एमएम रहेको छ । यो मोटरसाइकल इन्ट्री लेवल रोयल एनफिल्ड हन्टरभन्दा केवल दुई किलोग्राम मात्रै बढी तौलमा छ । यो मोटरसाइकलको राम्रो पक्ष हो ।

रोयल इनफिल्ड गुरिल्ला ४५० मोटरसाइकलमा ४५२ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, डिओएचसी, एफआई, शेर्पा इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ८ हजार आरपीएममा ४० हर्सपावर तथा ५५०० आरपीएममा ४० एनएमकै पिक टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स पाउन सकिन्छ ।


Back_to_top