८ सडक र २० पुलको वहुवर्षीय स्रोत सहमतिका लागि सिफारिस

काठमाडौं । राष्ट्रिय योजना आयोगले विभिन्न ८ वटा सडक र २० वटा पुल आयोजना निर्माण गर्न बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ।

आयोगको हालैको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका सडक र पुलको वहुवर्षीय ठेक्काका लागि स्रोत सहमतिका लागि सिफारिस गरेको हो।

आयोगले खुलालु-सल्लिसल्ला सडक, धनगढी-खुटिया-दिपायल-चैनपुर-उरैभन्ज्याङ सडक, कर्णाली कोरिडोरको उत्तर खण्ड (हिल्सा-सिमकोट) सडक, लेले भारदेव-चन्दपुर ठूला दुर्लुङ सडक, रोल्पास्थित सहिद मार्गका लागि स्रोत सहमतिका लागि मन्त्रालयमा सिफारिस गरेको हो।

त्यसैगरी, खुलालु-सल्लिसल्ला सडक खण्डका ६ वटा र भेरी कोरिडोर (जाजरकोट-दुनै-मरिम-तिन्जे-धो-रिम्ना) सडक खण्डका १४ वटा पुल निर्माणका लागि सिफारिस गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि ९ अर्ब ९० करोड प्रस्ताव भएको थियो ।

त्यस्तै, आयोगले शहरी विकास मन्त्रालय अन्तर्गतका विभिन्न ५३ आयोजनाका लागि पनि ३ अर्ब ८१ करोड रुपैयाँ बहुवर्षीय स्रोत सहमतिका लागि सिफारिस गरेको छ ।


Back_to_top